
गलकोट (बागलुङ)। जैमिनी नगरपालिका–६ अर्जेवास्थित सुम्सागाउँमा विसं २०७६ मा लिफ्टमार्फत सुरु गरिएको ‘एक घर एक धारा’ खानेपानी सेवा ठप्प भएको छ। कालीगण्डकीको पानी लिफ्टमार्फत १३२ घरमा वितरण भएपछि स्थानीय खुसी भए पनि योजना दुई वर्षमै अवरुद्ध हुँदै अहिले पाँच महिनादेखि धारामा पानी नआउने अवस्थाले गाउँ संकटमा परेको छ।
स्थानीयका अनुसार प्राविधिक गडबडी, बाढीपहिरो र चट्याङका कारण लिफ्ट योजना बारम्बार बिग्रँदै आएको छ। घर–घरमा धारा भए पनि पानी नआएपछि सुम्सावासी मानडाँडाबाट आउने मुहानको पानी गाग्री बोकेर ल्याउन बाध्य छन्। “आँगनमै धारा छ, तर महिनौँ भयो पानी छैन,” स्थानीय कोपिला थापाले भनिन्, “लिफ्ट योजनामा भर रहेन, समस्या फेरि पुरानै जस्तै भयो।”
नेवा, जैमिनी नगरपालिका र स्थानीयको जनसहभागितामा ८३ लाख रुपैयाँ खर्चेर बनेको आयोजनामा तीनपटक समस्या आइसकेको सुम्सा खानेपानी तथा स्वास्थ्य सरसफाइ आयोजनाका सचिव लालमाया पुनले बताइन्। उनका अनुसार पहिले बाढीले मुहान बगायो, त्यसपछि चट्याङले ट्रान्समिटर जलेर सेवा अवरुद्ध भयो, अहिले पहिराले पाइप बगाएपछि धारा फेरि सुकेको छ।
जैमिनी नगरपालिका प्रमुख नरबहादुर पुनका अनुसार नगरपालिकाले ४ लाख ६५ हजार रुपैयाँ खर्चेर मर्मत गरे पनि फेरि समस्या पुनरावृत्ति भयो। उनले विद्युत् भोल्टेज अनियमितताका कारण उपकरण बिग्रने समस्या रहेको र दीर्घकालीन समाधानका लागि सबस्टेशन आवश्यक हुने बताए।
नगरपालिकाले योजना खेर जान नदिने र दिगोपनाका लागि आवश्यक काम अघि बढाइने जनाएको छ। सुम्सावासी भने मुहानको पानीको पालो पर्खेर दैनिक जीवन चलाउँदै आएका छन्।





































