देश
भारतद्धारा हेटौंडामा ७०मिटर लामो मोड्युलर पुल हस्तान्तरण, आपतकालीन कनेक्टिभिटी पुनःस्थापनामा ठूलो टेवा

काठमाडौं, हालैका विनाशकारी वर्षाबाट प्रभावित पूर्वी नेपालमा आपतकालीन यातायात पूर्वाधार पुनःस्थापनालाई सहयोग गर्न भारतले ७०–मिटर लामो मोड्युलर पुल तथा पुल जडानमा प्रयोग हुने अत्याधुनिक उपकरण नेपाललाई हस्तान्तरण गरेको छ।
हेटौंडामा आयोजित विशेष समारोहमा नेपालका लागि भारतीय राजदूतले उक्त पुलको पूर्ण सेट भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई हस्तान्तरण गरेको हो । सन् २०२५ अक्टोबरमा आएको भीषण वर्षापछि नेपाल सरकारले अनुरोध गरेअनुसार भारतले यस्ता १० वटा ७०–मिटर लामो बेली–प्रकारका पुल उपलब्ध गराउने प्रतिबद्धता जनाइसकेको छ। नेरु ७३ करोडभन्दा बढी मूल्यको यो सहायता पूर्ण रूपमा अनुदान स्वरूप प्रदान गरिएको भारतीय दूतावासले जनाएको छ।

हस्तान्तरण गरिएको पुल तुरुन्तै रामेछाप पठाइनेछ, जहाँ अति भारी वर्षाका कारण सडक संरचना क्षतिग्रस्त भएको थियो। यसअघि पनि, सन् २०२४ सेप्टेम्बरमा आएको बाढी–पहिरोपछिको पुनर्निर्माणका लागि भारतले नेरु ४१ करोड बराबरका १० वटा प्री–फ्याब स्टील ब्रिज उपलब्ध गराएको थियो, जस मध्ये ४ वटा हालसम्म जडान भइसकेका छन्।

कार्यक्रममा भारतीय राजदूतले मोड्युलर पुल र जडान उपकरण हस्तान्तरण भारत–नेपाल सम्बन्धलाई परिभाषित गर्ने मित्रताको मजबुत प्रतीक रहेको बताए। उनका अनुसार, भारत नेपालका पुनर्निर्माण र विपद्पछिका प्रयासमा निरन्तर साथ दिने प्रतिबद्धतामा दृढ छ। सोही क्रममा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले भारतले प्रदान गर्दै आएको निरन्तर सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै यस्तो प्रकारका छिटो जडान गर्न सकिने पुलहरूले आपतकालीन पुनर्निर्माणमा तीव्रता ल्याउने उल्लेख गरे। मन्त्रीले नयाँ पुल छिट्टै सञ्चालनमा ल्याइने आश्वासन पनि दिनुभयो। भारतले पुनर्निर्माण तथा विपद् न्यूनीकरणका क्षेत्रमा नेपाल सरकार र नेपाली जनतासँग हातेमालो गर्दै जाने प्रतिबद्धता पुनः दोहोर्याएको छ।






























