
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको छ। गत वर्षको उपविजेता सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधि हासिल गरेको हो।
यो हारसँगै सुदूरपश्चिम लगातार दोस्रोपटक उपविजेतामा सीमित भएको छ। प्रतियोगिताको पहिलो संस्करणमा पनि सुदूरपशिचम उपविजेता बनेको थियो। पहिलो संस्करणमा सुदूरपश्चिमले जनकपुर बोल्ट्ससँग हार बेहोर्नुपरेको थियो। शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा प्रतियोगिताको फाइनल खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले ८.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो।
लक्ष्य पछ्याउने क्रममा लुम्बिनिका ओपनर दिनेश अधिकारीले खलेको पहिलो ओभर बलिङका लागि आएका सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको ओभरमा चार छक्का प्रहार गरेर खेललाई थप सहज बनाइदिए। ऐरीले पहिलो ओभरमा २७ रन खर्चे। ओपनिङका लागि आएका लुम्बिनीका दिनेशले ४२, डी आर्सी सर्टले १४ र कप्तान रोहित पौडेलले १६ रन बनाए। निरोशम डिकवेलाले अविजित ११ रन बनाउँदा सन्दीप जोरा शून्यमा आउट भए। लुम्बिनीका लागि दिलिप नाथले ‘विनिङ’ सट लगाए।
सुदूरपश्चिमका लागि हेमन्त धामीले २, दीपेन्द्रसिंह ऐरी र अविनाश बोहराले १-१ विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले १९.१ ओभरमा सबै विकेट गुमाएर जम्मा ८५ रन बनाउनसक्यो।
सुदूरपश्चिमका ब्याटरहरू लुम्बिनीको तिखो बलिङसामू धारासायी भए। लुुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक लिँदा सुदूरपश्चिमका ब्याटरहरू निरीह देखिए।
प्रतियोगिताको महत्वपूर्ण खेलमा सुदूरपश्चिमले २० ओभर खेलेर सबै विकेट गुमाएर जम्मा ९१ रन बनाउनसक्यो।
सुदूरपशिचमका लागि इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए। कप्तान दीपेन्द्र सिंह ऐरी १३ र हर्मित सिंह १० रन बनाएर आउट। यीबाहेक अन्य कुनै पनि ब्याटर दोहरो अंकमा रन बनाउन सकेनन्। सुदूरपश्चिमका तीन जना ब्याटर शून्य रनमा आउट भए।
लुम्बिनीका लागि कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रम्पेलम्यानले ३–३ तथा तिलक भण्डारीले १ विकेट लिए।
सकसपूर्ण यात्रा तय गर्दै उपाधिसम्म
प्लेअफमा सकस बेहोरेको लुम्बिनीले उपाधिका लागि दाबेदार ठानिएको सुदूरश्चिमविरूद्ध सहज जित निकाल्न सफल भएको छ।
लिग चरणमा चितवन राइनोजविरूद्धको आफ्नो पहिलो खेलमा जित निकाल्न सफल भए पनि लुम्बिनीका लागि त्यसपछिको तीनवटा खेल राम्रो रहेन। लुम्बिनीले लगातार तीनवटा खेलमा हार्न बेहोर्नुपर्यो।
दोस्रो खेल कर्णाली याक्ससँग हारेको लुम्बिनी तेस्रो खेल काठमाडौँ गोर्खाजसँग गुमायो। त्यस्तै त्यसपछिको तेस्रो खेलमा उसलाई सुदूरपश्चिमले पराजित गर्यो। त्यस्तै लिग चरणकै चौथो खेलमा लुम्बिनीलाई सुदूरपश्चिमले पराजित गर्यो।
तीनवटा खेल लगातार गुमाइसकेको लुम्बिनीलाई प्लेअफमा पुग्न लिग चरणका बाँकी तीन खेल जित्नैपर्ने दबाब थियो। रोहित पौडेलको सुझबुझपूर्ण कप्तानी, ब्याटिङ र बलिङको समेत प्रदर्शनले लुम्बिनी लिग चरणका बाँकी तीनै खेल जित्यो।
उसले लिग चरणका अन्तिम तीन खेलहरूमा पोखरा एभेन्जर्स, विराटनगर किंग्स र जनकपुर बोल्ट्सलाई पराजित गर्यो। लगतार तीन खेलमा जित हासिल गरेको लुम्बिनी प्लेअफमा पुग्न सफल भयो।
प्लेअफमा प्रतियोगिताकै सबैभन्दा बलियो टोली ठानिएको विराटनगरलाई पराजित गरेर फाइनलका लागि स्थान सुनिश्चित गर्यो। फाइनलमा पनि कप्तान रोहितका साथै अन्य ब्याटर तथा बलरहरूको उत्कृष्ट प्रदर्शन देखियो। ‘कन्सिस्टेन्ट’ प्रदर्शनका कारण अन्ततः लुम्बिनी उपाधि चुम्न सफल भयो।




































