देश
निर्वाचन आयोगले संविधान र विधानविपरीत निर्णय गरेमा देशभर आन्दोलन गर्ने कांग्रेस संस्थापन पक्षको चेतावनी

काठमाडौं ।काठमाडौं । नेपाली कांग्रेस संस्थापन पक्षले निर्वाचन आयोगबाट संविधान, कानुन तथा पार्टी विधानविपरीत कुनै निर्णय आए त्यसविरुद्ध देशव्यापी आन्दोलनमा जाने स्पष्ट संकेत दिएको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कार्यबाहक सभापति पूर्णबहादुर खड्काले त्यस्तो अवस्था आए देशभर आन्दोलन गर्ने बताए । ‘निर्वाचन आयोग गलत बाटोमा जान्छ भन्ने हामीलाई लाग्दैन । तर, आशंकाहरू छन्,’ खड्काले भने, ‘निर्वाचन आयोगले हामीले नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई मान्यता दिएन भने कांग्रेस देशभर आन्दोलन गर्न तयार छ । हामी गाउँगाउँ, वडावडाबाट चारतारे झण्डा लिएर आन्दोलित हुनेछौं ।’
उनले त्यस्तो अवस्थामा आए पार्टीको आह्वानमा आन्दोनलमा होमिन देशभरका कार्यकर्ता र संघसंगठनलाई निर्देशन दिए ।कार्यबाहक सभापति खड्काले पार्टीको विधानविपरीत विशेष महाधिवेशनको नाममा भेला गरिएको भन्दै आपत्ति जनाएका छन् । उनले पार्टी विधानअनुसार चल्ने बताएका हुन् ।
‘पार्टी विधानअनुसार चल्छ । राजनीतिक दलको काँधमा संविधान रक्षा गर्ने दायित्व छ । विषम परिस्थितिमा पार्टीभित्रैबाट केही व्यक्तिहरूले विशेष महाधिवेशनको नाममा पार्टी अनुशासन बाहिर गएर गतिविधि गरे,’ उनले भने, ‘विशेष महाधिवेशनको नाममा भेला बोलाएर पार्टीको विधानविपरित निर्वाचन आयोगमा पुगेको जानकारी पायौँ । आज निर्वाचन आयोगमा आफ्ना वैधानिक कुराहरू, नेपाली कांग्रेस, विधान सबैको विषयमा गम्भीर ध्यानाकर्षण गराएर आएका छौँ ।’
उनले पार्टीको अधिवेशन तथा विशेष महाधिवेशन गर्ने अधिकार केन्द्रीय समितिलाई मात्रै भएको बताए । ‘पार्टीको अधिवेशन, विशेष महाधिवेशन गर्ने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्रै छ । नेपाली कांग्रेसको विधानले कसैलाई पनि दिएको छैन । यो कुरा धारा र दफामा प्रष्ट छ,’ उनले भने, ‘केन्द्रीय कार्यसमितिको निर्णयबाट मात्रै विशेष महाधिवेशन हुने व्यवस्था छ । केके विधि हुने कसरी हुने भन्ने कुरा विशेष महाधिवेशनबाट हुनुपर्ने हुन्छ । केन्द्रीय समितिलाई थाहै छैन ।’





































