
काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले पार्टीभित्र चुलिएको आन्तरिक विवाद संवादकै माध्यमबाट समाधान हुन सक्ने विश्वास व्यक्त गरेका छन् । शनिबार पार्टी मुख्यालय सानेपा जानुअघि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले कांग्रेसमा देखिएको अन्योल र तिक्तता चाँडै अन्त्य हुने दाबी गरे ।
कोइरालाले पार्टीभित्र देखिएको मतभेदलाई स्वाभाविक प्रक्रिया भन्दै संवादबाटै मिलनविन्दु पहिल्याउन सकिने बताए । ‘विश्वमा ठूला–ठूला युद्धहरू पनि अन्ततः संवादकै टेबुलबाट समाधान भएका छन् । त्यसैले कांग्रेसभित्रको यो मतभेद पनि संवादबाटै सल्टिन्छ,’ उनले भने, ‘हामी फेरि मिल्छौँ र मिलाउनुपर्छ । कांग्रेसलाई पुनः एकीकृत बनाउनुको विकल्प छैन ।’
विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई शुक्रबार निर्वाचन आयोगले आधिकारिकता दिएको थियो । आयोगको निर्णय सार्वजनिक हुनुअघि नै सभापति शेरबहादुर देउवा पक्षले पत्रकार सम्मेलन गरी आफ्नो पक्षमा निर्णय नआए देशव्यापी आन्दोलनमा उत्रने चेतावनी दिएको थियो ।
आयोगको पछिल्लो निर्णयपछि सिर्जित परिस्थितिबारे छलफल तथा पार्टीको आगामी रणनीति तय गर्न विघटित केन्द्रीय समितिको बैठक आज बस्दैछ । सो बैठकमा सहभागी हुन जानुअघि कोइरालाले पार्टी एकता कायम राख्न लचिलो बन्नु आवश्यक रहेको र संवादलाई प्राथमिकता दिनुपर्ने संकेत गरेका छन् ।





































