जोडिनुहोस
  • होमपेज
  • रास्वपाको ‘सांघातिक आक्रमण’मा सुनको सिक्री लुटिएको एमालेको आरोप

रास्वपाको ‘सांघातिक आक्रमण’मा सुनको सिक्री लुटिएको एमालेको आरोप

नेकपा एमाले झापा क्षेत्र नम्बर–५ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताहरूले आफ्ना नेता तथा कार्यकर्तामाथि नियोजित रूपमा आक्रमण गरेको आरोप लगाएको छ ।

मंगलबार साँझ एमाले क्षेत्रीय समन्वय कमिटीका संयोजक नारायण प्रसाद गौतमले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेका छन् ।

एमालेका अनुसार झापा क्षेत्र नम्बर ५ का उम्मेदवार एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको मनोनयन दर्ता प्रक्रियालाई अवरोध पुर्‍याउने नियतले रास्वपा कार्यकर्ताहरूले आक्रमण गरेको हुन् । देशभर मनोनयनको उत्साह भइरहेका बेला दमकमा भएको घटनाले भयरहित निर्वाचन हुनेमा आशंका उब्जाएको एमालेको ठहर छ ।

झडपमा एमालेका ३ जना नेता तथा कार्यकर्ता घाइते भएको र आक्रमणकै क्रममा २ जनाको सुनको सिक्री समेत लुटिएको विज्ञप्तिमा दाबी गरिएको छ । एमालेले यसअघिको जेनजी विद्रोहका बेला लुटिएका हतियारहरू अझै बरामद नभएको र आपराधिक पृष्ठभूमिका व्यक्तिहरू खुला रहेको अवस्थामा यस्ता घटना हुनुलाई सुरक्षा चुनौतीका रूपमा लिएको छ ।

एमालेले आफूलाई एक जिम्मेवार दलका रूपमा संयमित रहेको बताउँदै आफ्नो संयमतालाई कमजोरी ठानिए भविष्यमा उत्पन्न हुने जुनसुकै परिस्थितिको जिम्मेवार रास्वपा र सरकार स्वयं हुनुपर्ने चेतावनी दिएको छ । विज्ञप्तिमार्फत समाजमा अराजकता फैलाउने दोषीहरूलाई तत्काल कानुनी दायरामा ल्याई कारबाही गर्न सरकारसँग जोडदार माग गरिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका