
मुस्ताङ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा भर्ना गरिएका निर्वाचन प्रहरीमध्ये करिब ८० प्रतिशत जिल्ला बाहिरका रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार हिमाली क्षेत्रको प्रतिकूल मौसमका बाबजुद पनि जिल्ला बाहिरबाट उल्लेख्य सङ्ख्यामा युवायुवती निर्वाचन प्रहरीमा भर्ना हुन आएका छन् ।
जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपालको संयुक्त कार्यविधि २०८२ अनुसार निर्वाचन प्रहरी छनोट, नियुक्ति तथा परिचालनका लागि योग्यता पुगेका नेपाली नागरिकबाट एकीकृत रूपमा दरखास्त आह्वान गरिएको थियो ।
माघ २ गतेसम्म आवेदन खुला गरिए पनि आवश्यक सङ्ख्या नपुगेपछि थप दुई दिन समय बढाइएको थियो । नेपाल प्रहरीका लागि २६६ जना र सशस्त्र प्रहरी बल नेपालका लागि ४६ जना गरी कुल ३१२ जना निर्वाचन प्रहरी माग गरिएकोमा ३२३ जनाले आवेदन दिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालले जानकारी दिए ।
उनका अनुसार आवेदन दिनेहरू म्याग्दी, बाग्लुङ, पर्वत, धादिङ, रुकुम, रोल्पा र गोर्खालगायत विभिन्न जिल्लाबाट आएका हुन् ।





































