
काठमाडौँ। भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएका घटनाको अध्ययनका लागि गठन गरिएको जाँचबुझ आयोगको कार्यअवधि आज सकिँदैछ । तर, आयोगको प्रतिवेदन लेखन कार्य अझै पूरा भएको छैन ।
तीन महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेशसहित गत भदौमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरिएको थियो । तोकिएको समयमा काम नसकिएपछि आयोगको म्याद एक महिना थप गरिएको थियो । थपिएको समय पनि आज सकिन लागेको हो ।
आयोगका अनुसार हालसम्म प्रतिवेदन लेखनको करिब ८० प्रतिशत काम सम्पन्न भएको छ । बाँकी काम पूरा गर्न केही दिनअघि आयोगको टोलीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी थप दुई साता समय माग गरेको थियो ।
प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार गृहमन्त्रालयमार्फत प्रस्ताव आएपछि मन्त्रिपरिषद्बाट म्याद थप गर्ने प्रक्रिया अघि बढाइनेछ । तर, हालसम्म गृहमन्त्रालयबाट औपचारिक प्रस्ताव नआएको उनले बताए। आयोगको म्याद मन्त्रिपरिषद्ले मात्रै थप गर्न सक्ने व्यवस्था छ ।
आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवासमै पुगेर बयान लिएको थियो । यस्तै, पूर्वगृहमन्त्री रमेश लेखक, सुरक्षा निकायका प्रमुखहरू, मुख्यसचिव, सचिवहरू, काठमाडौँका प्रमुख जिल्ला अधिकारी, काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख, विभिन्न जिल्लामा सुरक्षामा खटिएका कमान्डर तथा जेन–जी आन्दोलनका अभियन्तासँग पनि बयान लिइएको छ ।
भदौ २३ गतेको घटनामा राज्य पक्षबाट र २४ गते प्रदर्शनकारी पक्षबाट ठूलो जनधनको क्षति भएको आयोगले उल्लेख गरेको छ ।





































