
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले वरिष्ठ नेता हरिबोल गजुरेलसहित ७ जना नेताहरूलाई पार्टीबाट निष्कासन गरेको छ ।
पार्टीको निर्णयविरूद्ध सिन्धुलीमा बागी उम्मेदवारी दिएको आरोपमा गजुरेलसहित ७ जना नेतालाई नेकपाले एकैचोटि पार्टीबाट निस्कासन गरेको छ। ‘आगामी फागुन २१ गते हुन गइरहेको आम निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट आधिकारिक उम्मेदवार रहेका निर्वाचन क्षेत्रमा पार्टीको निर्णय र निर्देशनविपरित उम्मेदवार बनेका र त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक तथा प्रचारक बनेका तपसिलका व्यक्तिहरूलाई पार्टी विधानको दफा १०६ बमोजिम अनुशासनको कारबाही गर्दै पार्टीबाट निष्कासन गरिएको जानकारी गराइन्छ, पार्टीबाट जारी विज्ञप्तिमा भनिएको छ ।
पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार खडा गर्ने, प्रस्तावक र समर्थक बनेको ठहरसहित संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह–संयोजक माधवकुमार नेपालले शनिबार उनीहरूमाथि कारबाही गर्दै सूचना सार्वजनिक गरेका छन्।
निस्कासित हुने नेताहरूमा सिन्धुलीका हरिबोल गजुरेल र महेश्वर दाहाल, दाङका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी, उदयपुरका मेजर राई, सिरहाका धर्मनाथ साह, राजकुमारी साह र जिवछ साह छन्।
सिन्धुली–२ मा केन्द्रको निर्णयअनुसार लेखनाथ दाहाललाई उम्मेदवार बनाइए पनि गजुरेलको समर्थनमा महेश्वर दाहालले बागी उम्मेदवारी दर्ता गराएपछि विवाद चर्किएको हो ।






































