
काठमाडौँ । लुम्बिनी सेरामिक्स लिमिटेडको उत्पादन लामिनार टायल्स र क्रेस्टा टायल्सले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेका छन् । नेपाल गुणस्तर तथा नापतौल विभागले कम्पनीका दुवै उत्पादनलाई एनएस ६१७ः२०८२ मापदण्डको गुणस्तरको चिन्ह प्रदान गरेको हो । उक्त चिन्ह प्राप्त गरेसँगै नेपालको सेरामिक उद्योगले महत्वपूर्ण उपलब्धि हासिल गरेको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार लामिनार टायस्ले विभागबाट पूर्ण भिट्रिफाइड टायल्स (समूह बि एलए) श्रेणीको गुणस्तर चिन्ह प्राप्त गरेको हो भने क्रेस्टा टायल्सले पोर्सिलियन टायल्स (समूह बी एलबी) श्रेणीको मान्यता प्राप्त गरेको हो ।
कम्पनीका प्रबन्ध निर्देशक आशुतोष खेतानले उक्त चिन्ह प्राप्त गर्नुलाई महत्वपूर्ण उपलब्धि भनेका छन् । उनका अनुसार पूर्ण भिट्रिफाइड र पोर्सिलेन दुवै श्रेणीमा एनएस ६१७ प्रमाणीकरण प्राप्त हुनु नेपाली सिरेमिक उद्योगका लागि महत्वपूर्ण उपलब्धि हो । “नेपाल गुणस्तर चिन्ह प्राप्त हुनुले टायलको गुणस्तर मापनका लागि स्पष्ट, वैज्ञानिक र राष्ट्रिय रूपमा मान्यता प्राप्त मापदण्ड स्थापित गरेको छ,” उनले भने, “साथै पारदर्शी वर्गीकरण र प्रमाणीकरणमार्फत किफायती मूल्यमा अन्तर्राष्ट्रिय स्तरका उत्पादन दिन सक्ने हाम्रो क्षमतालाई पनि प्रमाणित गरेको छ ।”
कम्पनीका अनुसार एनएस ६१७ चिन्ह भारतको गुणस्तर चिन्ह आइएस १५६२२ सरहको प्रमाणपत्र हो भने केही सूचकांकमा युरोपियन स्तरको आइएसओ १३००६ मापदण्डसँग पनि मिल्छ । उक्त चिन्ह प्राप्त भएसँगै नेपालको सेरामिक उद्योगले अन्तर्राष्ट्रिय स्तरको गुणस्तर प्राप्त गरेको जनाइएको छ । उक्त चिन्ह प्राप्त गरेसँगै नेपाली उपभोक्ताले अब वैज्ञानिक रुपमा वर्गीकृत तथा पारदर्शी रुपमा प्रमाणिकरण गरिएका स्वदेशी उत्पादन प्रयोग गर्न पाउने कम्पनीको भनाइ छ ।
अन्तर्राष्ट्रिय बजारमा पूर्ण भिट्रिफाइड टायल्सलाई उच्च गुणस्तरको श्रेणीमा राखिन्छ । एनएस ६१७ चिन्ह प्राप्त भएपछि कम्पनीका उत्पादनप्रति उपभोक्ताको विश्वास अझ बलियो हुनुका साथै स्वदेशी उत्पादनको खपत बढ्ने र आयात प्रतिस्थाापनमा पनि सहयोग पुग्ने कम्पनीको विश्वास छ ।
लामिनारका पूर्ण भिट्रिफाइड टायल्सलाई न्यून पानी सोस्ने टायस्ल हो । जसका कारण टायल्समा दाग लाग्ने, रङ फिका हुने समस्या हुँदैन भने घर्षणका कारण पनि कुनै असर पर्दैन । यसप्रकारका टायल्स विशेष गरी घरका भूइँ, पर्खाल र बढी चहलपहल हुने, पानी पर्ने स्थान, बालकोनी तथा पार्किङ लगायतका क्षेत्रका लागि उपयुक्त मानिन्छन् ।
साथै कम्पनीले उत्पादन गरेको क्रेस्टा टायल्स घर तथा व्यावसायिक स्थाानका लागि किफायती मानिन्छन् । भूइँ र पर्खाल दुवैमा प्रयोग गर्न मिल्ने यी टायल्स टिकाउ हुनुका साथै आधुनिक डिजाइनमा पनि उपलब्ध भएको कम्पनीको भनाइ छ । पानी कम सोस्ने गुण भएकाले पोर्सिलेन टायल्स लामो समयसम्म टिकाउ हुन्छन् ।
कम्पनीले उपभोक्ताका लागि सहज होस् भन्ने उद्देश्यले टायल्सलाई वर्गीकरण समेत गरेको छ । यसबाट उपभोक्ताले सहजै कुन टायल कहाँ प्रयोग गर्ने ? कस्तो गुणस्तरको प्रयोग गर्ने ? कुन मूल्यको प्रयोग गर्ने भन्ने जानकारी लिन पाउनेछन् ।
यसैगरी, एनएस ६१७ मापदण्ड प्राप्त टायल्स सुरक्षाका दृष्टिले पनि महत्वपूर्ण मानिएको छ । कम्पनीका अनुसार प्रत्येक टायलको छेउमै त्यसको समूह वर्गीकरण उल्लेख गरिएको हुनेछ । टायल जडान गर्नु अघि नै ग्राहक, मिस्त्री वा परियोजना हेर्ने व्यक्तिले टायलको प्रकार आफैं जाँच गर्न सक्ने भएकाले गलत जानकारी वा छलकपटको सम्भावना निकै कम हुने विश्वास गरिएको छ ।
लामिनार र क्रेस्टा दुवै टायल कम्पनीको बर्दियास्थित कारखानामा उत्पादन हुँदै भइरहेका छन् । कम्पनीले स्पेन र इटालीबाट ल्याइएका ग्लेज तथा आधुनिक डिजिटल इन्क प्रविधि प्रयोग गरी टायल उत्पादन गर्दै आएको छ । उद्योगले आईएसओ ९००१ः२०१५, आईएसओ १४००१ः२०१५ र आईएसओ ४५००१ः२०१८ मापदण्ड पूर्ण रूपमा पालना गर्दै आएको कम्पनीको भनाइ छ । साथै गुणस्तर, वातावरणीय जिम्मेवारी र श्रमिक सुरक्षालाई प्राथमिकतामा राखेको कम्पनीले उल्लेख गरेको छ ।
कम्पनीका अनुसार टायल देशभरका आधिकारिक डिलरमार्फत उपलब्ध छन् । साथै, काठमाडौँको उत्तरढोकास्थित ‘लामिनार एक्सपिरियन्स सेन्टर’मा पनि टायल अवलोकन गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।





































