काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि आफूले पूर्ण ऊर्जा लगाएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘हाम्रो साधन र स्रोत थोरै छ । गर्नुपर्ने काम धेरै छ अर्थमन्त्री डा महतले भने । काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले केही विषयमा नीतिगत हस्तक्षेप नै गर्नुपर्ने सोचसमेत आफ्नो रहेको बताएका हुन्। अर्थमन्त्री एक्लैले आम चासो र चिन्तालाई सम्बोधन गर्न नसक्ने भएकाले तत्काल नतिजा नआउने भएकाले धैर्य गर्न उनले आग्रह गरे ।
अर्थतन्त्रलाई चलायमान बनाउन र बाधा हटाउन पहल भइरहेको स्पष्ट पार्दै उनले राजस्व संकलनमा देखिएको समस्या समाधान गर्न पहल भइरहेको बताए । ब्याजदरमा भएको वृद्धिका कारण लगानीमैत्री वातावरण बन्न नसकेको उल्लेख गर्दै उनले मौद्रिक नीतिमार्फत अर्थतन्त्रलाई चलायमान बनाउन नेपाल राष्ट्र बैंकको नेतृत्वसँग पनि छलफल गरिरहेको बताए । उनले भने, ‘हामी धेरै निरास नहोऔँ, अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ । केही समय धैर्य गरौँ’, अर्थमन्त्री डा महतले भने ।
उनले राज्यको प्राथमिकतामा नपरेका विषयमा अनुदान र ऋण लिन उचित नभएको बताए । अर्थमन्त्री डा महतले आवश्यकता बाहिर सहयोग लिइरहेको भन्दै प्राथमिकता निर्धारण गरेर मात्र बाह्य सहयोग लिनुपर्ने धारणा राखे । उनले भने प्राथमिकता निर्धारण गरेर लिनुपर्छ । के लिने नलिने के माग्ने नमाग्ने यथेष्ठ कुरा हुनुपर्छ ।
वैदेशिक सहयोगमा सञ्चालित आयोजनासमेत विभिन्न अवरोधका कारण समस्या खडा भएको उल्लेख गर्दै अर्थमन्त्री डा महतले पूर्वतयारी पूरा गरेर मात्रै परियोजना अगाडि बढाउन सकिए कुनै पनि समस्या नहुने बताए ।