काठमाडौं । नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) वरीयता १ स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले सोमबार जारी गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेर १५ औं स्थानमा पुगेको छ ।
एकदिवसीय विश्वकप छनोटका ६ खेल मध्ये २ मा मात्र जित हात पारेसँगै नेपालको वरीयता खस्किएको हो ।
एकदिवसीय विश्वकपमा छनोट भएको नेदरल्यान्ड्सले वरीयता सुधार गरेर नेपाललाई पछि पारेको हो ।
एसोसिएट तर्फ स्कटल्यान्ड शीर्ष स्थानमा रहेको छ । नेदरल्यान्ड्स दोस्रो र नेपाल तेस्रो स्थानमा रहेको छ ।
नयाँ वरीयताको शीर्ष स्थानमा अष्ट्रेलिया रहँदा दोस्रो स्थानमा पाकिस्तान रहेको छ । भारत तेस्रो तथा न्युजिल्यान्ड चौथो स्थानमा रहेका छन् ।