१८ औं एसियाड : नेपालको आजको प्रदर्शन कस्तो रहला ? पदकको आशा गरिएको तेक्वान्दमा पनि निराशा 

title
बुधबार, भदौ ६, २०७५

काठमाडौं । एसिया महादेशको सबैभन्दा ठूलो खेल महोत्सव एसियन गेम्स (एसियाड)को १८ औं संस्करण इण्डोनेसियामा जारी छ । विभिन्न स्पर्धाका खेलहरु भइरहेका छन् ।

पछिल्लो प्रतिस्पर्धामा चीनले शीर्ष स्थान कायमै राखेको छ भने जापानले उसलाई पछ्याइरहेको छ । एसियाडका ४० खेलका ४ सय २० स्पर्धा मध्ये केही खेलको टुंगो लागिसकेको छ भने केही स्पर्धामा खेलाडीले पदक चुम्ने क्रम जारी राखेका छन् । पछिल्लो पदक तालिकामा चीन अग्रस्थानमा छ । उसले ३० स्वर्ण, १८ रजत र १२ कास्यसहित ६० पदक जित्न सफल भएको छ । चीनलाई पछ्याइरहेको जापानले १२ स्वर्ण, १७ रजत र १८ कास्यसहित ४७ पदक जित्न सफल भएको छ । त्यसैगरी त्यस्रो स्थानमा रहेको दक्षिण कोरियाले ८ स्वर्ण, १२ रजत र १४ कास्यसहित ३४ पदक जितेको छ ।

चौथो स्थानमा रहेको इन्डोनेसियाले ५ स्वर्ण, २ रजत र ५ कास्य गरी कूल १२ पदक जितेको छ । पाँचौ स्थानमा रहको इरानले पनि समान ४ स्वर्ण, ३ रजत र ५ कास्य गरी १२ पदक जित्दै दक्षिण कोरियालाई पछ्याइरहेको छ । दोस्रो दिनसम्म जम्मा २२ मुलुकले पदक तालिकामा नाम लेखाउन सफल भएका छन् ।

तेक्वान्दोमा निराशा

वैदेशिक प्रशिक्षणका कारण विगतका वर्षहरुमा भन्दा यसवर्ष बढी पदक जित्ने आशा राखिए पनि अपेक्षा पूरा हुने अवस्था देखिएको छैन । नेपालले पदकको आशा राखेको तेक्वान्दोमा पनि निराशाजनक प्रदर्शन भएको छ । मंगलबार महिलातर्फको तेक्वान्दो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ । नेपालकी ज्ञानी चुनारा फिलिपिन्सकी लोपेज पाउलिन लोइनसँग २०–० को फराकिलो अन्तरले पराजित भएकी हुन् ।

योसँगै तेक्वान्दोमा नेपाल तेस्रो दिन पनि पदकविहीन बनेको हो । त्यसअघि ज्ञानीले पहिलो चरणमा भुटानकी छोदेन किन्जाङलाई २८–६ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेकी थिइन् । त्यस्तै, महिला ६७ केजीमाथिको पहिलो चरणमा ओलम्पियन निशा रावललाई चीनकी गाउ पानले २२–६ ले पराजित गरिन् । यता, तेक्वान्दोकै पुरुष ८० केजीमाथि अनोज पुजारी पहिलो चरणमै पराजित भएका छन् । काजाकिस्तानका झापारोभ रुसलानले अनोजमाथि २१–० को सहज जित हात पारे ।

नेपालले जकार्तामा पदकको आशा गरेको तेक्वान्दो लगातार निराजनक नतिजा आउन थालेको छ । नेपालले एसियन गेम्सको इतिहासमा अहिलेसम्म सर्वाधिक पदक ल्याएको तेक्वान्दोमा १ रजत पदकसहित १३ वटा कास्य पदक जितेको छ । बुधबार नेपालका दुई पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । भुपेन्द्र श्रेष्ठले पुरुष ८० केजीमुनि तथा वीरबहादुर महराले ६३ केजीमुनि तौल समूहमा खेल्नेछन् ।

सञ्जुले बनाइन् राष्ट्रिय किर्तिमान

१८ औं एसियाडअन्तर्गत भारोत्तोलनमा सञ्जु चौधरीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् । उनले महिलाको ५३ केजी तौल समूहतर्फ स्न्याच, क्लिन एन्ड जर्क र समग्रमा गरी तीन कीर्तिमान बनाएकी हुन् ।

सन्जुले जकार्ताको जेआई एक्स्पो हलमा मंगलबार स्यान्चमा ७२ र क्लिन एन्ड जर्कमा ८६ केजी भार बहन गर्दै समग्रमा १५८ केजी तौल उचालिन् । तीन महिना अघि उनले  काठमाडौंमा अन्तर क्लब प्रतियोगितामा  स्यान्चमा ७१ र क्लिन एन्ड जर्कमा ८५ केजी तौल उचाल्दै १५६ केजी उचालेर किर्तिमान बनाएकी थिइन । यस पटक उनले आफ्नो रेकर्ड सुधार गरेकी हुन् ।

उनले पहिले चरणमा  स्न्याचतर्फ ६८ केजी र दोस्रो राउन्डमा ७२ केजी उचालेकी थिइन् । तेस्रो राउन्डमा ७३ केजीको भार उचाल्न सकिनन् । त्यसैगरी क्लिन एन्ड जर्कमा पहिलो राउन्डमा ८२ र दोस्रो राउन्ँडमा ८६ केजी उचालिन् । तेस्रो राउन्डमा ८८ केजी उचाल्ने प्रयास सफल भएन । १२ खेलाडी सहभागी स्पर्धामा सन्जु १२ औं स्थानमा आइन् । फिलिपिन्सकी हिडिल्यन डाएजले समग्रहमा २०७ केजी तौल उचाल्दै स्वर्ण पदक जितिन् ।

तुर्किमेनिस्थानकी क्रिस्टिना सेर्मेटोभाले समग्रमा २०६ केजी भार बहन गर्दै रजत र थाइल्यान्डकी सुराड्चना काम्बाओले समग्रमा २०१ केजी उचाल्दै तेस्रो स्थान हासिल गरे ।

बास्केटबलमा दोहोरो हार

पुरुष थ्री अन थ्री बास्केटबलमा नेपालले दोहोरो पराजय भोगेको छ । समूह ‘सी’ को लिग खेलमा नेपालले जापानसँग २२–११ र कतारसँग २१–८ ले पराजित भयो ।
जेबीजे बास्केटबल कोर्टमा भएको पहिलो खेलमा नेपालले शुरुमा जापानसँग प्रतिस्पधात्मक खेलेको थियो ।

नेपालका लागि मविन्द्र भण्डारी र निश्चल महर्जनले ४÷४ अंक जोडे । अजय कुश्वााले १ र आशिम बस्नेतले २ अंकको योगदान दिएका थिए । जापानका लागि योसियुकीले सर्वाधिक ११ अंक जोडेका थिए । अर्काे खेलमा कतारले नेपाललाई २१–८ ले हरायो । नेपालका मविन्द्र भण्डारीले ३, निश्चल महर्जनले ४ र अजयले १ अंक जोडे । नेपालको समूहमा जापान, जोर्डन, माल्दिभ्स र कतार रहेका छन् ।

बास्केटलको महिला थ्री अन थ्री बास्केटबमा नेपालको महिला टिमले चाइनीज ताइपेको सामना गर्दै छ । नेपालको महिला बास्केटबल टिममा एलिना गुरुङ्ग, श्रेया खड्का, भावना लामा र अनुशा मल्ल रहेका छन् ।

पौडी : शिरीष ४६ औं स्थानमा

एसियाली खेलकुदको पौडीमा नेपालका शिरीष गुरुङले पुरुष ५० मिटर फ्रिस्टायलमा ४६ औं स्थान हात पारेका छन् । ५१ खेलाडी सहभागी उक्त स्पर्धामा शिरीषले निर्धारित दूरी २६.३३ सेकेन्डमा पूरा गरे । ७ खेलाडीले भाग लिएको दोश्रो हिटमा भने शिरीष तेश्रो स्थानमा रहे ।

्यो स्पर्धाको राष्ट्रिय कीर्तिमान शिरीषकै नाममा छ । उनको नाममा २५.८८ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ । बिहीबार शिरीषले १ सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन् । त्यसअघि बुधबार गौरिक सिंहले २ सय मिटर फ्रिस्टायल र शुभम् श्रेष्ठले १ सय मिटर ब्रेस्टस्ट्रोकमा सहभागिता जनाउने छन् ।

तेक्वान्दो : तेश्रो दिन पनि पदकविहीन

एसिायाली खेलकुदमा नेपाललाई सर्वाधिक पदक दिलाएको तेक्वान्दो इन्डोनेसियाको जकार्तामा जारी १८ औं एसियाली खेलकुदअन्तर्गत तेक्वान्दोको तेश्रो दिन पनि पदकविहीन बनेको छ । एसिायली खेलकुदमा नेपालले तेक्वान्दोबाट १ रजत र १३ कांस्य गरी जम्मा १४ पदक जितेको छ ।

तेश्रो दिन नेपालबाट १ पुरुष र २ महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । त्यसमा एक खेलाडीले मात्र पहिलो चरण पार गर्न सफल हुदाँ दुई खेलाडी पहिलो चरणमै रोकिए । महिला ५७ केजीमुनि ज्ञानी चुनारा क्वाटरफाइनलमा फिलिपिन्सकी लोपेज पाउलिन लोइससंग २०–० को फराकिलो अन्तरले पराजित भइन् । त्यसअघि ज्ञानीले पहिलो चरणमा भुटानकी छोडेन किन्जाङलाई २८–६ ले हराउदै क्वाटरफाइनलमा स्थान पक्का गरेकी थिइन् ।

महिला ६७ केजीमाथिको पहिलो चरणमा ओलम्पियन निशा रावललाई चीनकी गाउ पानले २२–६ ले निराश पारिन् । पुरुष ८० केजीमाथि अनोज पुजारी पहिलो चरणमै सीमित भए । काजाकिस्तानका झापारोभ रुसलानले अनोजमाथि २१–० को सहज जित दर्ता गरे । बुधबार नेपालका दुई पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । भुपेन्द्र श्रेष्ठले पुरुष ८० केजीमुनि तथा वीरबहादुर महराले ६३ केजीमुनि तौलसमूहमा खेल्नेछन् ।

कबड्डी : नेपालको दोश्रो हार    

पुरुष कबड्डीमा नेपालले लगातार दोश्रो हार व्यहोरेको छ । समूह ‘बी’ को लिग खेलमा नेपाल जापानसंग २८–३१ ले पराजित भयो । पहिलो खेलमा नेपाल आयोजक इन्डोसियासंग चुकेको थियो ।

मंगलबार नेपालले दुई खेल खेल्नेछ । पहिलो खेलमा नेपालले इरानसंग खेल्नेछ भने दोश्रो खेलमा मलेसियाको सामना गर्नेछ ।

प्याराग्लाइडिङको अन्तिम नतिजा आज

पुरुष व्यक्तिगत स्पर्धामा नेपालका विजय गौतम ५ राउन्डसम्म १४ औं स्थानमा छन् भने सुशील गुरुङ २५ औं स्थानमा छन् । यो स्पर्धामा ३३ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । गौतम ३ राउन्डसम्म दोस्रो स्थानमा थिए ।

यस्तै एक्युरेसीको पुरुष टिम इभेन्ट्समा ५ राउन्डसम्मको खेल सकिँदा नेपाल आठौं स्थानमा छ । यो स्पर्धामा १५ राष्ट्रले भाग लिएका छन् । एक्युरेसीको महिला टिम इभेन्ट्समा नेपाल सातौं स्थानमा छ ।

प्याराग्लाइडिङको एक्युरेसीको अन्तिम नतिजा बुधबार आउनेछ । शुक्रबारबाट क्रस कन्ट्री इभेन्ट सुरु हुनेछ । नेपालले क्रस क्रन्ट्रीमा पदकको आसा गरेको छ । यसैबीच, उसुको महिला सान्सौंको ६० केजी मुनि तौल समूहमा नेपालकी लुमन्ती श्रेष्ठ थाइल्यान्डकी सुचया बुआलुङसँग क्वाटरफाइनलको पहिलो राउन्डमै पराजित भइन् । लुमन्ती बाइ पाएर सीधै क्वार्टरफाइनलमा प्रवेश गरेकी थिइन् ।