सरकारी निर्णय लोकतन्त्र विपरित– डा. भट्टराई

title
बुधबार, असार २०, २०७५

काठमाडौँ । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले लोकतन्त्र र समाजवादको सिद्धान्त र नीति विपरीतका क्रियाकलाप गर्न सरकार उद्धत भएको आरोप लगाउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा समय मागेर आफ्नो धारणा राख्ने क्रममा भट्टराईले उपत्यकाका सार्वजनिक स्थलहरुमा सभा गर्न नपाउने निर्णय गरेर सरकारले लोकतन्त्र, समाजवाद र साम्यवादको सिद्धान्त र नीतिविपरित अघि बढेको आरोप लगाउनुभयो ।

केही समय यता देखा परेका घटनाहरु लोकतन्त्र र समाजवादको सिद्धान्तले परिकल्पना गरेका नीतितर्फ उन्मुख नभएको भन्दै उहा“ले चिन्ता व्यक्त गर्नुभयो । सरकारको केहि निर्णय लोकतन्त्रको सामान्य मुल्य मान्यतालाई कुण्ठित गर्ने खालको भएको भन्दै मान्य नहुने चेतावनी दिनुभयो ।

भट्टराईले चिकित्सा शिक्षा विधेयकलाई फिर्ता लिई डाक्टर गोविन्द केसीको स्वास्थ्य उपचारको व्यवस्था गर्दै जीवन रक्षाको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । त्यस्तै उहाले बाढी पीडितको उद्धारमा पनि उपयुक्त ध्यान पुर्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा सांसदहरु बाढि पहिरोबाट भएको धनजनको क्षती लगाएतका बिषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।