स्वर्ग जस्तो बडिमालिका, जस्लाई बाजुराले नै चिनेन (मनमोहक १० तस्विर सहित)

title
बिहिबार, भदौ १४, २०७५

-कर्णराज पाण्डे

‘हामी विकासको पर्खाइमा छौं, हाम्रा पर्यटकीय सम्भावनाका खानी तपाइहरुलाई नै कुरिरहेका छन्, मात्र अभाव छ प्रचार प्रसारको, त्यसलाई हामी सम्भव तुल्याउँछौं ।’– यो भनाइ हो बुढीनन्दा नगरपालिकाकी उपमेयर सृष्टि रेग्मीको । यस भनाइले सम्पूर्ण बाजुराबासीको आवजलाई नै प्रतिनिधित्व गर्छ । जनैपूर्णिमाको मेला भर्न बढीमालिका जाँदै गर्दा सृष्टिले पक्कै विकासको खाका आफ्नो मानसपटलमा कोरेकै हुनुपर्छ । किनकी उनी पहिलो जनप्रतिनिधि हुन् भने दोस्रो– ‘इन्जिनियरिङ्गकी स्टूडेन्ट’ ।

मुलुक संघीयतामा गएसँगै संघीय राज्यले आफ्नो प्रदेशको विकासका लागि विभिन्न पहल गरिरहेका छन् । आफ्नो प्रदेशभित्रका सम्भावनाका खानीहरुको खोजी पनि उत्तिकै जारी राखेका छन् । राज्यलाई समृद्ध बनाउने खाका कोरिरहँदा आफ्नो प्रदेश भित्रका सम्भावना अग्रभागमा समेटिनु स्वभाविक पनि हो । यस्तै प्रदेश नम्बर ७ को सम्भावनाको खानीमध्य एक हो–बाजुराको बडिमालिका धार्मिक–पर्यटकीय क्षेत्र ।

समुन्द्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको बाजुराको बडिमालिका वास्तवमै सौन्दर्यको खानी हो । बडिमालिकाबाट नजिकै देखिने सुन्दर सैपाल हिमाल, विशाल फाँटहरुमा फुलेका रंगीचंगी फूलहरु बडिमालिकाका गहना हुन् । हिउँदमा हिउँको घुम्टो ओढ्ने बडिमालिका बर्षामा फूल्ने रंगीबिरंगी फूलहरुले स्वीट्जरल्याण्डभन्दा कम्ता देखिँदैन । यी मनोरम प्राकृतिक छटाहरुले जो कोहीको मन लोभ्याउँछ नै ।

छिमेकी मुलुक भारतकको जम्बु–कस्मिरमा छायांकन भएका चलचित्रका दृश्य देख्दा लाग्छ हामी त्यो भन्दा कम छैनाैं । फरक छ त केबल उनीहरूलार्इ विश्वले नियाल्छ, हामी अाफ्नै देख्दैनौं । किन अहिलेसम्म यस क्षेत्रको एउटा गतिलो डकुमेन्ट्रीसम्म पनि बन्न सकेन ? प्रश्न उब्जिन्छ । उत्तर दिनेहरु भन्छन्– बजेटको अभाव, बाटो घाटोको समस्या । अहँ, पंक्तिकारलाई त्यस्तो लाग्दैन । मलाई लाग्छ– ‘बिग बजेट होइन, मास्टर माइण्डको खाँचो छ ।’

भन्दा लाजमर्दो कुरा– हामी कुन धरातलमा छौं ? हाम्रो हैसियत कहाँ पुग्यो ? एक पटक मनन गर्नैपर्छ जिम्मेवार निकायमा पुगेकाहरुले । ७५ जिल्ला हुँदा मानव विकास सुचककांको ७५ औं स्थानमा रहेको बाजुरा अहिले ७७ जिल्ला हुँदा सम्भवतः ७७ औं स्थानमै पुग्यो होला  । यसलाई माथि उठाउँने कि यथास्थितिमै राख्ने सम्पूर्ण जिम्मा हाम्रै काँधमा छ । यसतर्फ बेलैमा सचेत बनौं ।


त्यसो त बाजुरेली जनताको प्रतिनिधित्व गर्ने जनप्रतिनिधिको प्रभूत्व अहिले प्रदेशदेखि केन्द्रसम्मै बाक्लो छ । राष्ट्रिय सभामा बद्री पाण्डे (नेपाली कांग्रेस), प्रतिनिधि सभामा लालबहादुर थापा (नेपाल कम्यूनिष्ट पार्टी (नेकपा))तत्कालीन नेकपा एमाले, प्रदेशसभातर्फ बलदेव रेग्मी र प्रकाशबहादुर शाह । त्यतिमात्र नभएर पूर्व उद्योगमन्त्री समेत भइसक्नुभएका नेकपाका वैकल्पिक पोलिटब्यूरो सदस्य कर्ण बहादुर थापा प्रदेश नम्बर ७ को अध्यक्षमा समेत सिफारिस भइसक्नु भएको छ । सवै तह र तप्कामा हाम्रो पहुँच पुगेका छ । यो भन्दा अरु गर्वको विषय के हुन सक्छ र ?

यी प्रतिनिधिहरुको पार्टी र विचारधारा भलै फरक–फरक होला, तर बाजुराको विकासका लागि उहाँरुको आवाज एउटै हुनैपर्छ । यो आम बाजुरेली जनताकै सोच हो । यो पंक्तिकारले राजनीतिक नेतृत्वमा विगतदेखि बर्तमानसम्म देखेको र मनन गरेको समानता एउटै छ– चुनावताका भोट बटुल्न बाड्ने सुन्दर सपनाले भरिएका घोषणपत्र, अनि सडक र सदनमा उठाइने उही पर्यटनका सम्भावना र विद्युत क्षमताका कुरा । तर, बत्ति विनाको अध्यारो, साँघुको जोखिम यात्रा, बाढी पहिरोको पीडा भोग्ने त स्थानीय जनता न हुन् । अझ दोस्रो संविधानसभा चुनावको त कुरै नगरौं । प्रत्यक्ष र समानुपातिक गरी झण्डै आधि दर्जन नै सभासद् थिए बाजुराबाटै । अहँ विकासले अपेक्षाकृत गति लिएको देखिएन ।


अहिले गाउँ गाउँमा सिंहदरबार पुगेको कुरा हुन्छ । समृद्ध नेपाल र सुखी नेपालीको नारा तय गरिन्छ ! अध्याँरोमा टर्चलाइट बालेर देखिने चिज होइन– सिंहदरबार । वरिपरि सवैतिर अग्लो कम्पाउण्डले घेरिएको सिंहदरबार भित्रका बिल्डिङ त्यहाँ खडा हुने पनि होइनन् । उतिबेला अदूरदृष्टि (टाढाको वस्तु स्पष्ट देख्न नसक्ने) रोग भएको सिंहदरबारले अहिले उही रोग सारिदिएको मात्रै हो । त्यसैले टाढाको वस्तु नदेखे पनि हामी नजिकको वस्तु नियाल्न त सक्छौं नि अब । हाम्रा सम्भावनाहरुको समुचित प्रयोग गरी विकास र समृद्धितर्फ लम्कियौं भने दूर दृष्टिको दोष निवारणका लागि कन्भेक्स लेन्स र अदूर दृष्टिको समस्या समाधानार्थ केन्केभ लेन्स प्रयोग भएको चस्मा किन्ने सामथ्र्य पक्कै बन्नेछ हाम्रो । दूर र अदूर दृष्टिको दोष निवारण गर्न सक्यौं भने विदेशी ब्राण्डका ‘नाइट भिजन’ र ‘रे–वन’ चस्माको रहर पनि मेटौंला, तिनै चस्मा लगाएर बडिमालिकाको सुन्दरतामा सेल्फी खिचौंला । फेरि जोड्छु– ‘बिग बजेट होइन, मास्टर माइण्डकै खाँचो छ ।’ भाषणबाजी गर्ने मुख भन्दा काम गर्ने हातहरुकै खाँचो छ ।


राजनीतिक प्रसंगका कुरा कोट्याउँदा धेरै बहकिएछु । पंक्तिकारका कुरा चित्त नबुझे माफी चाहान्छु । यो पंक्तिकारले पनि अझै यो बडिमालिकाको उकालो चढ्न पाएको छैन । बाजुरा बासी भएकै नाताले तस्विर देखेकै, भने–सुनेकै भरमा काठमाडौं खाल्डोबाटै कलम चलाएको मात्र हो । छुटेका कुरा धेरै होलान् । मभित्र पनि उही अदूर दृष्टिको दोष जो छ । एकदिन अवश्य बडिमालिकाको बढोत्तरीमा रहमाउने चाहना राख्दै पुनः प्राकृतिक मनोरमामै जोडिन्छु । प्रदेश नम्बर ७ कै विकट जिल्ला बाजुरामा बहुआयामिक विकासका सम्भावना छन् ।

अथाह सम्भावना बोकेको देवभूमि, धार्मिक पर्यटन, आस्थाको केन्द्र, लोपोन्मुख जडिबुटीहरूको विशाल भण्डार भएका बडिमालिका, बुढीनन्दा, त्रिबेणिधाम, नाटेश्वरी माई लगायत छन् हाम्रा सम्पत्ति । यिनीहरुको प्रचारप्रसार सँगै संरक्षणमा हामी नजुटे को जुट्ने ? हामिले नगरे कस्ले गर्ने ? अब पनि नगरे कहिले गर्ने ? हातेमालो गरौं सामाजिक एकताका लागि लामबद्ध बनौं ।

भनेजस्तो यी प्राकृतिक सुन्दरतासँग प्रत्यक्ष स्पर्स गर्न त्यति सहज छैन । अप्ठ्यारो गोरेटो बाटोको कष्ट सहनैपर्छ । भोक प्यास र थकानले लखतरान बन्नैपर्छ । तर यहाँका प्राकृतिक छटासँग प्रत्यक्ष स्पर्स गर्ने वातावरण मात्रै सिर्जना गर्न सक्यौं भने पनि हाम्रा धेरै समस्या टर्नेछन् । यो पंक्तिकारको दाबीमात्र होइन विश्वास पनि हो । अब बडिमालिकाले पयर्टन पर्खिन जनैपूर्णिमा नै कुर्नु हुँदैन । स्वदेशी नागरिकमात्र नभएर विदेशी पर्यटकको नजरमा पार्नका लागि अब हामीले के के गर्नुपर्ने हो सवै तह र तप्काबाट स्वविवेकले लागौं ।यत्ति कामना… ।

(लेखक सगरमाथा टेलिभिजनका सम्पादक हुन् )
तस्वीर साभारः सृष्टि रेग्मी