भ्यालेन्टाइनमा संजोगसँग वर्षाको विवाह

title
मङ्लबार, माघ १, २०७५

काठमाडौं– लामो समयदेखि प्रेम सम्बन्धमा रहेका अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले विवाह गर्ने भएका छन् । उनीहरुले सोमबार फेसबुकमार्फत विवाहको मिति घोषणा गरेका हुन् ।

वर्षा र संगोगले आउँदो फागुन दुई गते भ्यालेनटाइन डे (प्रणय दिवस)का दिन लगन गाँठो कस्ने भएका छन् । उनीहरुले आफ्नो आधिकारिक फेसबुकमा डिजाइन गरिएको एक कार्डमार्फत् विवाहको जानकारी र मिति घोषणा गर्दे भनेका छन् ‘योभन्दा हामीलाई अत्यन्त खुसी महशुस भइरहेको छ कि हामी जीवनकालसम्मको यात्रा सुरुवात गर्न गइरहेका छौं ।’

‘नाइँ नभन्नू ल ४’बाट नेपाली सिने क्षेत्रमा भित्रिएकी वर्षा पछिल्लो समय चलेकी नायिका हुन् । उनको नयाँ चलचित्र ‘गोपी’ आउँदो माघ १८ गते रिलिज हुँदैछ भने हाल ‘चौका दाउ’ प्रदर्शन भइरहेको छ । ‘दाल भात तरकारी’ प्रदर्शनको तयारीमा छ । संजोग पनि नेपाली चलचित्र क्षेत्रमै काम गरिरहेका छन् । उनले ‘छक्का पञ्जा ३’, ‘बाजीगर’, ‘कथा काठमाडौं’ लगायतका चलचित्रमा अभिनय गरेका छन् ।

वर्षा र संजोग झण्डै पाँच वर्षदेखि प्रेममा रहेका थिए । पाँच वर्षअघि एक फिल्म अडिशनको क्रममा उनीहरुको पहिलो पटक भेट भएको थियो । विवाहको मिति उल्लेख भएको कार्ड दुवैले आ–आफ्नो फेसबुकमा एकसाथ साझेदार गरेका छन् । विवाहको जानकारी दिएसँगै अहिले उनीहरुलाई सहकर्मी तथा चलचित्रकर्मीबाट बधाई तथा शुभकामनाको ओइरो लागेको छ ।