५६ लाख घरधुरी नेपालीलाई मालिक बनाउने जलविद्युत आयोजनाको निर्माण गरिने उर्जा मन्त्री पुनको भनाई

title
शुक्रबार, भदौ १, २०७५

काठमाडौ । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले ५६ लाख घरधुरी नेपालीलाई मालिक बनाउने गरी आकर्षक जलविद्युत आयोजनाको निर्माण गरिने बताउनु भएको छ ।

नेपाल विद्युत प्राधिकरणको ३३औं वार्षिकोत्सवको अवसरमा शुक्रवार काठमाडौमा सम्पन्न कार्यक्रममा मन्त्री पुनले प्राधिकरणको अगुवाईमा हरेक नेपालीको लगानी सुनिश्चित हुने गरी निर्माण हुने त्यस्ता आयोजना राजनीतिक प्रभाव र दवाबमा छनोट नगरिने प्रष्ट पार्नुभयो ।

प्राधिकरण र निजी क्षेत्रले आयोजनाको विद्युतको जडित क्षमता बराबर भइसकेको उल्लेख गर्दै मन्त्री पुनले प्राधिकरणले आफ्नो कार्यशैलीमा परिवर्तन गरी प्रतिस्पर्धी बन्नु पर्नेमा जोड दिनुभयो । उहाँले जलविद्युत आयोजनाको ठेक्का लिने क्रममा एउटै ठेकेदारले ७४ वटा आयोजना होल्ड गरेको भन्दै पहिला ठेक्का लिएको काम सकेपछि मात्रै नयाँ ठेक्का लिन दिन विद्युत प्राधिकरण सञ्चालक समितिको ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको वार्षिक प्रतिवेदन पेश गर्दै गत आर्थिक वर्ष संस्था १ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न र विद्युत चुहावट २० दशमलव ४५ प्रतिशतमा झार्न सफल भएको बताउनुभयो ।