एसिया कप छनोटमा नेपाल कसरी छानिन्छ ? [अंकगणितीय सम्भावना]

title
सोमवार, भदौ १८, २०७५

काठमाडौं । मलेसियामा जारी एसिया कप क्रिकेट छनोट खेल अन्तर्गत लगातार दुई खेलमा पराजय व्यहोरोको नेपालले त्यसपछिका दुई खेलमा लगातार जित हात पार्दै एसिया कप छनोटमा झिनो सम्भावना जिवितै राखेको छ ।

आइतबार बिहान भएको आफ्नो चौथो खेलमा नेपालले सिंगापुरविरुद्ध चार विकेटको जित दर्ता गरेको हो । सिंगापुरविरुद्ध आइतबार १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २८.१ ओभरमा ६ विकेट गुमाउँदै आवश्यक रन जोडेको थियो । लगातार दुई जितपछि नेपालको छनोटको फाइनल पुग्ने सम्भावना यथावत छ । तर, त्यसका लागि नेपालले मंगलबार हुने हङकङविरुद्धको खेलमा फराकिलो अन्तरले जित दर्ता गर्नुपर्ने हुन्छ ।

छनोटको सम्भावना यस्तो
यूएईले आयोजक मलेसियामाथि शानदार जित हात पार्दा वर्षाले प्रभावित खेलमा ओमानले हङकङसँग १–१ अंक बाँडेको हुन् । यूएईको फराकिलो जित र ओमानको बराबरीले नेपाल थप दबावमा परेको छ । समूह चरणको अन्तिम खेलअघि ओमान ७ अंकसहित शीर्ष स्थानमा छ भने यूएईको ६, हङकङको ५ र नेपालको ४ अंक छ । २ अंक जोडेको मलेसिया र अंकविहीन सिंगापुर दुबैको फाइनल खेल्ने सम्भावना सकिएको छ ।

सुरुवाति दुई खेलमा ओमान र यूएईसँग व्यहोरेको हारले नेपाललाई निकै अप्ठेरो स्थितिमा पु¥याएको छ । त्यसपछि लगातार दुई खेल जिते पनि रनरेट सुधार भएको छैन । यद्यपि नेपालको गणितीय सम्भावना भने टरिसकेको छैन । अब मंगलबार यूएई र ओमान अपसमा भिड्नेछन् भने नेपालले हङकङको सामना गर्नेछ ।

यदि ओमानलाई यूएईले जित्यो भने नेपालको सम्भावना सकिनेछ । किनकी ओमानको अहिले नै ७ अंक छ भने जितले यूएईको ८ अंक हुनेछ । त्यसपछि यूएई र ओमान फाइनलमा पुग्नेछन् । नेपालले हङकङलाई हराउँदा पनि ६ अंक मात्र हुन्छ र फाइनल खेल्न पाउँदैन । तर, ओमानले जित्यो भने नेपालको सम्भावना रहन्छ ।

अझ ओमानले यूएईलाई जति ठूलो अन्तरले हरायो, नेपाललाई त्यति नै फाइदा हुने देखिन्छ । तर नेपालले हङकङलाई ठूलो अन्तरले हराउन पर्ने हुन्छ । त्यसबेला नेपाल र यूएईको समान ६–६ अंक हुन्छ र रन रेटमा नेपाल अगाडि रहे मात्र नेपालले फाइनल खेल्ने सम्भावना बन्नेछ । अहिले रनरेटमा यूएई सबैभन्दा माथि छ । उसको रनरेट १.५८३ पुगेको छ । ओमानको ०.९२७ छ भने नेपालको ०.१७६ मात्रै छ ।