देउडा गाउँंदै, बलात्कारी खोज्दै !

title
मङ्लबार, भदौ २६, २०७५

हर्क चन्द, डडेल्धुरा

नेपालको सुदूर तथा मध्य क्षेत्रमा निकै प्रचलित लोक गायन शैली, देउडाको चहलपहल अहिले चलिरहेको छ । देउडा भाषा, देउडा गित, लोक देउडाका नाममा परम्परा देखि नै बिशेष उत्सव मनाउंदै आएकाहरुले अहिले लोक संस्कृतिलाई आफ्नो माग पोख्ने माध्यमका रुपमा समेत सदुपयोग गर्न थालेका छन् ।

पश्चिम नेपालको बैतडी, अछाम, बझाङ, बाजुरा, दार्चुला, डोटी, डडेलधुरा, कालिकोट, जुम्ला, दैलेख, जाजरकोट र हुम्ला लगाएतका जिल्लामा पश्चिमेली भाषामा गाईने देउडा अहिले निकै लोकप्रिय संस्कृति बन्न थालेको छ । जसलाई स्थानीयले आफ्नो समस्या तथा समाजको बिकृति बिसंगती उजागर गर्ने माध्यमका रुपमा समेत सदुपयोग गर्न थालेका छन् । अहिले सुदुरपश्चिमका विभिन्न जिल्लामा देउडा भाका गाउदै देउडियाहरुले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्त हत्या काण्डका दोषीलाई कारबाही गर्न सरकारसंग माग गरिरहेका छन् ।

डंडेलधुरा जिल्लामा देउडा भाका गाउँदै कलाकारहरुले १३ वर्षीया किशोरी निर्मलाको बलात्कारपछि हत्या भएको महिना दिन बित्दा समेत मुख्य अभियुक्त पक्राउ नपरेको भन्दै देउडा गीत मार्फत कारबाहीको माग गरेका छन् । दोषीलाई कारबाही नहुँदासम्म दवाव दिन नछोड्ने उनीहरुको भनाइ छ ।

निर्मला पन्त लगायत सुदुर पश्चिमका विभिन्न जिल्लामा महिला तथा बालबालिका बिरुद्ध चरणबद्ध हिंसा भएपछि यो बर्षको देउडा प्रतियोगीता सामाजिक बिकृति बिरुद्ध केन्द्रित भएको हो । देउडियाहरुले पन्तको हत्यापछि अभियुक्तका रुपमा दिलिपसिंह विष्टलाई सार्वजनिक गरेर मुख्य अपराधीलाई उन्मुक्ति दिइएको आरोप समेत लगाई रहेका छन् । विभिन्न तहमा भइरहेको छानविन तथा अनुसन्धान प्रति आशंका व्यक्त गर्दै देउडियाहरुले गाँउ गाउंबाट सरकारलाई निश्पक्ष छानवीनका लागि दवाव दिन आह्वान गरेका छन् ।

डडेल्धुरा बस पार्कमा हुक्का चिलिम समाज र रेडियो युनिटीले संयुक्त रुपमा आयोजना गरेको हुक्का चिलिम महिला देउडा प्रतियोगितामा उनीहरुले सुदूरपश्चिमेली पहिरन सहित देउडा खेलेका छन् । सदरमुकाममा पहिलो पटक सुदूरपश्चिमको पहिचान झल्किने लुगा लगाएर देउडा खेलाईएको हो ।

यहाँका महिलाले गुन्यु चोलो, कम्मरमा पटुका, गलामा पोते, तिलहरी, माला, हातमा चुरा लगायतका परम्परागत गहना लगाएर देउडा खेलेका हुन् । देउडा संस्कृति संरक्षणका लागि खेलिएको देउडामा युवतीदेखि वृद्धासम्मले साथ दिएका छन् । आधुनीकता र शहरीकरणका कारण देउडा संस्कृति प्रति युवा पुस्तामा मोह घट्दै गएपछि अहिले पश्चिम नेपालमा परम्परागत् तरिकाले यस्ता प्रतियोगीता उत्सव कै रुपमा मनाउन थालिएको छ ।