दोस्रो सातामा ‘ड्रिम गर्ल’, 2.0 सँग प्रतिस्पर्धा

title
आइतवार, मंसिर १६, २०७५

काठमाडौं । चलचित्र निर्माता तथा निर्देशक ऋषिराज आचार्यद्वारा निर्मित चलचित्र ड्रिम गर्ल सफलतापूर्वक दोस्रो सातामा प्रदर्शनरत छ । बलिउड चलचित्र २.० प्रदर्शनमा आउँदा चलचित्रको व्यापार एकाएक ओरालो लाग्ने आम अपेक्षाभन्दा चलचित्रले फरक कारोबार गरिरहेको छ ।

दोस्रो सातामा बलिउड चलचित्र २.०को प्रतिस्पर्धी चलचित्रका रुपमा दरिएको छ । निर्माता तथा निर्देशक आचार्यले चलचित्रले भने आम अपेक्षा भन्दा पृथक शैलीमा दर्शकको माया पाउन सफल भएकोमा खुशी व्यक्त गरे । उनले भने– ‘कुनै कुनै हलमा अरु चलचित्रलाई उतारेर ‘ड्रिम गर्ल’ले स्थान पाउनु भनेको एकदमै खुशीको कुरा हो । यसको श्रेय नेपाली चलचित्रलाई माया गर्ने सम्पूर्ण दर्शकहरुलाई नै जान्छ ।’

राजधानीसहित देशभरिका अधिकांश हलहरूमा रिलिज भएको ‘ड्रिम गर्ल’ले राम्रो व्यापार गरेको निर्माण पक्षको दाबी छ । दर्शकको साथ पाएसँगै निर्माण पक्ष सन्तुष्ट समेत बनेको छ । चलचित्रले राम्रो प्रतिक्रिया पाएको निर्देशक आचार्यले बताए । फिल्मले पाएको राम्रो प्रतिक्रिया र समीक्षाबाटसमेत उनी सन्तुष्ट छन् । ‘उपत्यका बाहिरका हल–हलमा दर्शकहरूले दिएको मायाले आगामी दिनमा चलचित्र निर्माणका लागि थप उर्जा मिलेको छ ।’

उनले भने– ‘फिल्मको कथा, निर्माण पक्ष र इण्डिङलाई दर्शकले रुचाएका छन् ।’ ‘ड्रिम गर्ल’ प्रेमकथामा आधारित एक्सन चलचित्र हो । फिल्मको कथा र निर्माण स्वयं निर्देशन आचार्यले गरेका हुन् । ‘ड्रिमगर्ल’लाई पूर्ण मनोरञ्जनको प्याकेज भन्छन्– निर्देशक आचार्य ।

चलचित्रमा आकाश श्रेष्ठ, आश्मा गिरी, सरोज खनाल, अर्जुन श्रेष्ठ, विल्सन बिक्रम राई, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी, रश्मी भट्ट, सुरवीर पण्डित लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । प्रेमकथामा निर्माण भएको चलचित्र ड्रिम गर्ल शुक्रबारदेखि दोश्रो सातामा प्रबेश गरेको हो । मंसिर ७ गतेदेखि प्रदर्शनमा आएको चलचित्र यो साता पनि दर्शकको उल्लेख्य साथ पाउनेमा निर्माण पक्ष ढुक्क रहेको छ ।चलचित्र हेरेर हलबाट बाहिरिँदै गर्दा दर्शकले चलचित्र निकै राम्रो बनेको प्रतिक्रिया पाउँदा आफूले चलचित्रमा गरेको लगानी खेर नगएको निर्माता आचार्यले बताए ।

चलचित्र प्रदर्शन भएपछि मुलुकका विभिन्न हलमा चलचित्रको अवस्था र दर्शकको प्रतिक्रिया बुझ्न निर्माण टोली कहीदिनअघि मोफसल यात्रामा निस्किएको थियो । केही दिन मोफसलका दर्शकसँग साक्षात्कार गरेर राजधानी निर्माण टोली केही दिन अघि मात्र राजधानी फर्किएको हो ।

मोफसल यात्राका दौरानमा निर्माण टोली पोखरा, बुटवल, चितवन, दाङ लगायत केही ठाउँमा ‘ड्रिम गर्ल’ युनिटले दर्शकसँग साक्षात्कार गरेको थियो । मोफसलका दर्शकसँगको साक्षात्कारका विषयमा निर्माता तथा निर्देशक आचार्यले भने–‘मोफसलका दर्शकले चलचित्र निकै राम्रो बनेको प्रतिक्रिया दिए ।

चलचित्रको कथावस्तु, चलचित्रमा समावेश काठमाडौं, रारा ताल र थाइल्याण्डका विभिन्न रमणीय दृश्यलाई मनपाएको खुशी लाग्यो । त्यतिमात्र न भएर कतिपय ठाउँमा एकै दर्शकले चलचित्र दुई–तीन पटक सम्म हेरेको भन्दा मन दंग भयो ।’ देशभरका करिब ८० पर्दाबाट एकसाथ रिलिज भएको ‘ड्रिम गर्ल’को मोफसल टुरमा निर्देशक ऋषिराज आचार्य, नायिकाद्वय आश्मा गिरी, पूजा पराजुली, कलाकार शिशिर भण्डारी, मिडिया संयोजक लक्ष्मण सुवेदी लगायत टोली थियो ।

त्यस्तै नायिका आश्मा पनि चलचित्रबाट ठूलो सम्भावना देखाएकी छिन् । चलचित्रमा उनको अभिनयलाई दर्शकले रुचाएका छन् । मोफसल यात्राकै दौरानमा उनले– ‘फिल्म हेरेर दर्शकले जेजस्तो प्रतिक्रिया दिनुभएको छ, म एक्दम खुशी छु ।’ अधिकांश दर्शकले आफ्नो अभिनय निकै खारिएको पाएको आश्माले बताइन् ।

त्यस्तै पूजा पराजुली पनि चलचित्रमा आफ्नो भूमिका बाट सन्तुष्ट छिन् । उनी भन्छिन्– ‘दर्शक सन्तुष्ट हुनु भनेको म सन्तुष्ट हुनु हो । दर्शकको मायाबाट दंग छुँ ।’ यता नायक आकाश श्रष्ठले पनि चलचित्र निकै राम्रो बनेको र चलचित्रको कथावस्तु दर्शकका लागि विशेष रहेको बताए ।