महिला सशक्तिकरणका लागि जागरण पहिलो शर्तः मन्त्री थापा

title
मङ्लबार, मंसिर १८, २०७५

काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले महिला हिंसा विरुद्धको १६ दिने अभियान सातै प्रदेशमा सशक्तताका साथ अघि बढाइएको बताउनुभएको छ ।

“लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान, १०औं मानवअधिकार महाभेला–२०१८, महिलाहरु विशेष गरि सिमान्तकृत समुदायको स्थानीय सुशासन, निर्वाचन, निर्णायक तह र राजनीतिमा सहभागिता सवलिकरण” विषयक “उपलब्धी, सिकाई र चुनौती” छलफल कार्यक्रममा मन्त्री थापाले महिला सशक्तिकरणका साथै उनीहरुको क्षमता अभिवृद्धिका कार्यक्र गरी गाउँ गाउँर वस्ती वस्तीका जागरण अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको हो ।

उहाँले मुलुकमा लामो समयदेखि गरिएको राजनैतिक आन्दोलनबाट प्राप्त उपलब्धी तथा परिणामले वर्तमान संविधानमा महिलाको हकअधिकार सुरक्षित भएको दावि समेत गर्नुभयो । त्यस्तै कार्यक्रममा प्रतिनिधिसभा विकास तथा प्रविधि समितीकी सभापति कल्याणी कुमारी खड्काले महिलाका मुद्दालाई महिला सम्बन्धी संघ संस्थाहरुले मात्र नभई राष्ट्रिय मुद्दा बनाइनुपर्ने बताउनुभयो । उहाँले महिलाको अधिकार मात्रै नभएर दायित्व समेत वृद्धि भएकाले आफ्नो जिम्मेवारीलाई पुरा गर्नु सवै तह र तप्काबाट लाग्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा जागरण नेपालको संस्थापक अध्यक्ष शर्मिला कार्कीले एसियाकै उत्कृष्ट संविधान नेपालको भएको भन्दै समावेशी तथा आरक्षणको पूर्ण व्यवस्था र कार्यान्वयनमा आउनु ठूलो उपलब्धी भएको बताउनुभयो । उहाँले महिलाको राजनीतिमा सहभागिता नै महिलाको हक अधिकारको सुनिश्चितता हुने दावि गर्नुभयो ।

कार्यक्रममा संस्थाकी अध्यक्ष सम्झना पोखरेलले संस्थाले परियोजना संचालन भएयता हासिल गरेका उपलब्धीका विषयमा चर्चा गर्दै महिलाहरुलाई अवसर दिएर मात्र नभइ अवसरलाई सदुपयो गर्ने वातावरण समेत सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सहभागी विभिन्न जिल्लाका जनप्रतिनिधिहरुले आफ्नो क्षेत्रमा महिला जागरणमा भएको परिवर्तनका विविध विषयमा चर्चा गरेका थिए ।

ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ र काभ्रेपलाञ्चोक जिल्लाका स्थानीय जनप्रतिनिधिहरुको सहभागिता रहेको उक्त कार्यक्रममा स्थानीय सरकार संचालन गर्दा आएका परिवर्तन, चुनौती तथा समस्याको बारेमा उनीहरुले आफ्नो धारणा व्यक्त गरेका थिए ।