कोटेश्वर–जडिबुटीको जाम हटाउन यस्तो विकल्प

title
सोमवार, कार्तिक १२, २०७५

काठमाडौं । कोटेश्वर जडिबुटीको जामका कारण ठूलै सास्ती भोगिरहेका उपत्यकावासी लगायत यात्रुहरुका लागि विकल्पको खोजी थालिएको छ । पहिलो चरणमा गाडीको जामको चाप केही न्यून गर्न सडक पीच गरिएको छ । कोटेश्वर जडिबुटीको जाम खोल्न जडिबुटी पुलदेखी हनुमन्ते करिडोर सडक पिच गर्ने कार्य सम्पन्न भएको हो ।

पहिलो चरणमा जडिबुटीको पुलदेखि आखाँ अस्पताल हुँदै हनुमन्ते करिडोरसम्मको सडक पिच गरिएको छ । त्यस्तै दोस्रो चरणमा हनुमन्ते तथा मनोहरा नदीको दोभानदेखि बालकुमारीसम्मको सडक निर्माण कार्य पनि अघि बढाइएको छ । १२ करोडमा उक्त दोभानदेखी बालकुमारीसम्मको सडक निर्माणलाई द्रुत गतिमा निर्माण कार्य अघि बढाइएको छ ।

त्यस्तै कोटेश्वर जडिबुटीको सडकलाई जाम मुक्त बनाउन मनोहरा खोलामा बेलिव्रिज निर्माणको कार्य समेत शुरु गरिएको छ । बेलिव्रिज तथा करिडोर निर्माण सम्पन्न भए सडक जामका कारण घण्टौं समय बर्वाद हुने समस्याबाट यात्रुहरुले मुक्ति पाउने भएका छन् ।

सडक बिभागका महानिर्देशक रविन्द्र नाथ श्रेष्ठले दोभानदेखि बालकुमारीसम्म आगामी दुई महिनाभित्रमा कच्ची सडक निर्माण गरेर गाडी सञ्चालन गर्दै जाने र पीच गर्दै कोटेश्वर जडिबुटीको जामलाई अन्त्य गराउन विकल्पको रुपमा जडिबुटी पुलबाट बालकुमारी पुलसम्मको सडक प्रयोग गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उक्त स्थानमा भएको सडक पिचको अवस्थालाई निरिक्षण गर्ने क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले प्रशासनिक ढिलासुस्ती तथा मेलम्ची खानेपानी आयोजना कार्यान्वयन इकाइले मनोहरा नदीमा ढल हाल्ने काममा ढिलाई भएको कारण सडक निर्माण प्रक्रिया ढिला भएको बताउनुभयो । त्यस्तै उहाँले समस्या समाधान गर्न आवश्यक पहल गरीरहेको बताउनुभयो ।

डिभिजन कार्यालय भक्तपुरका डिभिजन इन्जिनियर बेदबहादुर भुजेलले भक्तपुर र ललितपुर जोड्ने मनोहरा–हनुमन्ते नदीको दोभानमा रहेको पुल निर्माणका लागि टेण्डरको प्रकृया अघि बढाई यसै वर्ष निर्माण कार्य सुरु गर्ने जानकारी गराउनुभयो ।

मनोरम समाजका अध्यक्ष विश्व बन्धु बास्तोलाले सडक सञ्चालन गर्न परम्परागत रुपमा प्रयोग भैरहेको घाटलाई नजिकै स्थानान्तरण गरी यातायात सञ्चालन गर्न सहज वातावरण सिर्जना गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।