रोनाल्डोले भने- ‘अब जे गर्छु, युभेन्टसका लागि गर्छु’

title
मङ्लबार, साउन १, २०७५

विश्वकप फुटबल सकिएसँगै विभिन्न क्लबसँग खेलाडीहरुको आवद्धताको चर्चा चलिरहेको बेला पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको अभिव्यक्ति सार्वजनिक भएको छ ।

हालै रियलमड्रिड छाडेर युभेन्टस पुगेका रोनाल्डोले युभेन्टसको अवसरका लागि आभारी प्रकट गरेका छन् । ३३ वर्षका रोनाल्डो रियल मड्रिडबाट ११२ मिलियन युरोमा इटालियन च्याम्पियन युभेन्टसमा अनुबन्धित भएका हुन् ।

आफ्नो उमेरका खेलाडी सामान्यतया कतार वा चीन जाने भए पनि युभेन्टसले विश्वास गरेकोमा आभारी रहेको रोनाल्डोको भनाइ छ । ९ वर्ष रियल मड्रिडमा बिताएका रोनाल्डोले यो अवधिमा क्लब तथा व्यक्तिगत स्तरमा पाउनुपर्ने कुनै उपाधि वा अवार्ड बाँकी छैन ।

हालै युभेन्टसले आयोजना गरेको एक कार्यक्रममा उनलाई औपचारिक रुपमा प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा रोनाल्डोले भने, ‘जीवनको यो उमेर करिअरको यो अवस्थामा यो क्लब आउन पाउँदा निकै खुशी छु ।’ उनले थपे– ‘अब युभेन्टसलाई च्याम्पियन्स लिगको उपाधि दिलाउने मेरो चाहना छ ।’

रोनाल्डोले रियल मड्रिडबाट कीर्तिमानी ४५० गोल गरे भने चारपटक च्याम्पियन्स लिगको उपाधि जिते । यस्तै उनले दुई पटक ला लिगाको उपाधि पनि उचाले । उनी सन् २००९ मा म्यानचेस्टर युनाइटेडबाट रियल मड्रिड गएका हुन् । रोनाल्डोले पाँचपटक बालोन डी’ओर जितेका रोनाल्डोले पोर्चुगललाई सन् २०१६ मा युरोकपको उपाधि दिलाएका थिए ।