भन्दा अनौठो, सुन्दा झन अचम्म, इमान्दारीताको यो उदाहरण(प्रमाण सहित)

title
सोमवार, भदौ २५, २०७५

श्रीकृष्ण सुवेदी,काठमाडौं

तपाईले कहिल्यै आफैंले आफैंलाई कारबाही गरी पाऊँ भन्दै नियमनकारी निकायमा उजुरी दिनुभएको छ ? अथवा तपाईको गल्ती कसैले औंल्याइदिंदा कारबाही भोग्न तयार हुनुभएको छ ? छैन भने अचम्म नमान्नुस् । यस्तै प्रमाण फेला परेको छ पोखराबाट ।

पोखरा महानगरपालिका वडा नम्बर ९ का कृष्णप्रसाद देवकोटाले आफैंलाई कारबाही गर्न महानगरपालिकामा निवेदन नै दिएका हुन् । सुन्दा अचम्म लाग्ला, सडकमा आफैंले अन्जानबस फोहोर फालेको र उक्त काम गैरकानूनी भन्दै देवकोटाले महानगरपालिकाको कार्यालयमा कारबाही गरिपाऊँ भन्दै निवेदन दिएका थिए ।

निवेदन परेपछि कारबाही प्रक्रिया अघि बढाउँदै पोखरमा महानगरपालिकाले देवकोटालाई १ हजार रुपैंया नगद जरिवानाको रसिद काट्यो । उनले पनि उक्त रकम तिरेर इमान्दारिताको प्रमाण पेश गरे ।

त्यसो त उनले चर्चा कमाउनका लागि भने यसो गरेका होइनन् । न उनलाई इमान्दारीताको प्रमाण नै देखाउनु थियो । यो त उनको केवल सांकेति विरोध मात्र हो । हामी कुन हदसम्म गिर्छौं ? नियमनकारी निकाय किन मुकदर्शक बन्छ ? भन्ने मात्र हो ।

चोक–चोकमा यहाँ फोहोर फालेमा कडा कारबाही लेखिएको हुन्छ, तर त्यहीँ फोहोरको डंगुर थुप्रिएको हुन्छ । यसतर्फ किन ध्यान जाँदैन ? यसो हुनुका पछाडि जिम्मेबार को ? यीनै प्रश्नको उत्तर दिँदै उनले आफैँ कारबाहीका लागि निवेदन दिएका हुन् ।

पोखरा आफैमा सुन्दर नगरी हो, स्वदेशी तथा विदेशीहरुको प्रमुख पर्यटकीय क्षेत्रमा भइरहेको फोहर व्यवस्थापनमा नियमनकारी निकायले मात्र गरेर केही हुनेवाला छैन । त्यसैले हामी आफै सचेत बनौं भन्ने सन्देश कृष्ण प्रसादले दिन खोजेका हुन् ।