महाकाली सन्धिको २२ बर्षपछि…

title
मङ्लबार, भदौ २६, २०७५

चन्द्रकान्त जोशी, कञ्चनपुर
नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको बाइस बर्षपछि भारतीय पक्षले महाकाली सिँचाइ तेस्रो चरणको मुल नहर निर्माण प्रक्रिया थालेको छ । टनकपुर ब्यारेजदेखि भीमदत्तनगरपालिका–९ मटेना स्थित नेपाल–भारत सिमासम्म भारतले १२ सय मिटर नहर र हेड रेगुलेटर लगायतका संरचना बनाउन थालेको हो ।

द्विपक्षीय बिबादका कारण अघिबढ्न नसकेको महाकाली सन्धि अनुसारको टनकपुरस्थित भारतीय पक्ष एन.एच.पि.सी.ले १२ सय मिटर नहर सहित रेगुलेटर लगायतका संरचना निर्माणका लागि २२ बर्षपछि बोलपत्र आह्वान गरेको छ । महाकाली सिंचाइ आयोजना तेस्रो चरणको कार्यालय महेन्द्रनगरमा सिनियर डिभिजनल ईञ्जिनियर (सिडिई) बीरसिंह धामीका अनुसार, भारतले १८ महिनाभित्र नहर निर्माण गरिसक्ने गरी ठेक्का सुचना जारी गरेको हो ।

भारतीय पक्षले आगामी पुस महिनादेखि नहर निर्माणको काम थाल्ने महाकाली तेस्रो चरणलाई मौखिक जानकारी दिइसकेको छ । सन् १९९६ को एकिकृत सन्धीमा कञ्चनपुरको भीम दत्तनगरपालिका–९ स्थित नेपालको सिमाक्षेत्र पर्ने मटेनासम्म १२ सय मिटर लामो मुल नहर भारतले बनाउने उल्लेख छ । करिब १८ बर्षअघि नेपाल–भारत जलस्रोत मामिला सम्वन्धी समस्या समाधानका लागि गठित् अधिकारसम्पन्न संस्था (जे.सी.डब्लु.आर) को पहिलो बैठकमा यो नहर निर्माणको विषय उठेको थियो । अहिले नेपाल–भारतबिच हेड–रेगुलेटरको सिल लेबलका विषयमा कुरो मिलेको र अब २४४.२५ मिटर सिल लेबलबाट पानी बितरण हुने धामीले बताए ।

सम्झौता अनुसार यता नेपाल तर्फ झण्डै १३ किलोमिटर नहर निर्माण भइसकेको छ । त्यसैगरी करिब ६ महिनाअघि तेस्रो चरण अन्र्तगत झण्डै थप १५ किलोमिटर मुल नहर निर्माणका लागि तीन वटा प्याकेजमा ठेक्का सम्झौता भइसकेको छ । महाकाली सिंचाइ तेस्रो चरण अन्र्तगत कैलालीको मालाखेतीसम्म १५१ किलोमिटर मुल नहर आगामी स्न २०२२ सम्म पुरा गरिसक्ने स्वीकृत लक्ष्य रहेपनि नहर निर्माणको काम कछुवा गतिमा चलिरहेको छ ।

हाल निर्माण भएको १३ किलोमिटर मुल नहरको शाखा नहर विस्तार गरी केही बर्षपछि नहरमा आउने पानीले ब्रह्मदेवक्षेत्रको करिब ३ हजार हेक्टर क्षेत्रफलमा सिंचाइ सुविधा पुग्ने छ । आर्थिक बर्ष २०६३÷०६४ देखि सिंचाइको नहर निर्माण शुरु भएको हो । उक्त आयोजना अन्र्तगतको नहर निर्माण भए कैलालीको मालाखेती र कञ्चनपुरको पुरै क्षेत्रफल गरी ३३ हजार ५२० हेक्टर जमिनमा सिचाइ हुनेछ । पहिलो र दोस्रो चरणबाट कञ्चनपुरका ११ हजार ७ सय हेक्टर जमिन सिंचित भएका छन् ।