इन्टरनेसनल ओम सिमेन्ट प्रालिको ठगी धन्दा

title
आइतवार, भदौ २४, २०७५

काठमाडाैं । पर्साको वीरगन्जमा रहेको इन्टरनेसनल सिमेन्ट प्रालिले आफ्नो कम्पनीबाट उत्पादित ओम ब्रान्डका सिमेन्ट बिक्रीवितरणमा बदमासी गरेको पाइएको छ । उक्त कम्पनीले आफूले उत्पादन गरेको पीपीसी सिमेन्टलाई ओपीसी सिमेन्ट भनेर बेच्ने गरेको भेटिएको हो ।

नेपाल गुणस्तर तथा नापतौल विभागले उक्त कम्पनीबाट उत्पादित ओम सिमेन्टमा बदमासी भएको भन्दै नेपाल गुणस्तर चिन्हसमेत स्थगन गरेको छ । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार ओमको पीपीसी सिमेन्टलाई ओपीसी भन्दै संखुवासभाको खाँदबारीमा बिक्रीवितरण गरिएको भेटिएको हो । एउटा उत्पादनको नाममा फरक वस्तु बेचिएको भेटिएपछि गुणस्तर चिन्ह स्थगन गरिएको पुडासैनीले बताउनुभयो ।

‘पीपीसी र ओपीसी सिमेन्टका विषयमा अधिकांशलाई थाहा नै हुँदैन । झन् उपभोक्ता आफैले गुणस्तर परीक्षण गर्ने भनेको त टाढाको कुरा हो । यस्तो अवस्थामा इन्टरनेसनल सिमेन्ट प्रालिले ग्रामीण क्षेत्रका सोझा साझालाई बढी झुक्याइएको पाइयो’ पुडासैनीले भन्नुभयो । ओम सिमेन्टमा भने त्यसको उत्पादनकर्ता कम्पनी इन्टरनेसनल सिमेन्ट प्रालिले उपभोक्तालाई मूल्य र गुणस्तर दुवैमा ठगी गरेको भेटिएको छ।

ओपीसी र पीपीसी सिमेन्टमा मुख्य फरक भनेको सिमेन्ट उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ अर्थात् ‘क्लिंकर’ को मात्रामा हो । ओपीसीमा ९७ प्रतिशतभन्दा बढी र पीपीसीमा त्योभन्दा निकै कम क्लिंकर प्रयोग भएको हुन्छ । क्लिंकरको मात्रा बढी भएकै कारण ओपीसी सिमेन्ट पीपीसीभन्दा केही रकम महँगो पर्न जान्छ । सल्फेट, अल्कालिक र क्लोराइड्सको मात्रा पनि पीपीको भन्दा ओपीसीमा बढी हुन्छ । यी तत्वहरुले नै सिमेन्टको गुणस्तर तथा बलियोपन निर्धारण गर्दछन् ।

ओपीसी र पीपीसी सिमेन्टमा हुने अर्को फरक भनेको सिमेन्ट ढलानलगायत काममा प्रयोग भइसकेपछि कति समयमा सेट हुने र बलियोपनामा पनि फरक पार्ने भन्ने पनि हो । ओपीसी सिमेन्टमा पीपीसीको तुलनामा बलियोपन बढी हुन्छ भने पीपीसी सिमेन्ट लामो समयका लागि बलियोपन दिने सिमेन्ट मानिन्छ ।

वीरगन्जमा मुख्य कार्यालय तथा जगन्नाथपुरमा उत्पादन उद्योग रहेको उक्त कम्पनीले ओपीसी र पीपीसी ब्रान्डमा सिमेन्ट उत्पादन गर्दै आएको छ । दैनिक ६ सय टन सिमेन्ट उत्पादन क्षमता रहेको उक्त उद्योगले ज्योति, आयुष्मान र रुद्राक्ष ब्रान्डका सिमेन्ट पनि उत्पादन गर्दै आएको छ । उद्योगले ४३ र ५३ दुवै ग्रेडका ओपीसी सिमेन्ट उत्पादन गरेर बजारमा पठाउँदै आएको छ ।

आफू गुणस्तर चिन्ह प्राप्त ब्रान्ड रहेको भन्दै बजारमा प्रचार गर्दै आएको उक्त सिमेन्टको ‘ब्रान्ड एम्बेसडर’ मा महानायक राजेश हमाललाई नियुक्त गरिएको छ ।

केही समयअघि महानायक हमालले एउटा कपालमा प्रयोग हुने मेहन्दी सार्वजनिक गर्ने कार्यक्रममा आफूले खेल्ने कुनै पनि विज्ञापनमा त्यस वस्तुको गुणस्तरका बारेमा बुझेर मात्र काम गर्ने गरेको सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो ।

आफूले विज्ञापन गरेका र उपभोक्तासँग प्रत्यक्ष जोडिएका कुनै पनि वस्तुको गुणस्तरमा पहिल्यै बुझ्ने गरेको र सो विषयमा आफू ढुक्क भएपछि मात्र विज्ञापन गर्नुभएको थियो । तर यो घटनाले भने महानायक हमालको सो प्रतिबद्धतामा समेत गम्भीर असर पु¥याएको छ । यसबारे हमालको प्रतिक्रिया लिन खोज्दा अमिद नाम गरेका उहाँका सहयोगी सम्पर्कमा आए पनि उहाँ उपलब्ध हुन सक्नुभएन । सहयोगी अमिदले उपलब्ध गराएको अर्को नंम्बरमा भने सम्पर्क हुन सकेन ।

सन् २०१५ मा बलिउडको महानायक भनेर चिनिने अमिताभ बच्चन तथा दुई जना नायिका माधुरी दीक्षित र प्रीति जिन्टाविरुद्ध म्यागी चाउचाउको विज्ञापन खेलेको भन्दै मुद्दा दायर भएको थियो । ‘टु मिनेट्स’ नामक म्यागी ब्रान्डको गुणस्तरमा प्रश्न उठिरहेका बेला उनीहरुले त्यसको विज्ञापन गरेको भन्दै भारतको एक स्थानीय अदालतमा मुद्दा दायर भएको थियो ।

बलिउडकर्मीविरुद्ध मुद्दा परेको खाद्य सुरक्षा र गुणस्तरको विषयलाई पछि तीन जनाले माफीसमेत मागेका थिए भने विज्ञापनबाट पनि हात झिकेका थिए ।

नेपाल गुणस्तर (प्रमाण) चिन्ह ऐन २०३७ को दफा ८ अनुसार इजाजतपत्र प्राप्त गरेका व्यक्ति वा संस्थाले निर्धारित गुणस्तर अनुकूल नरहेका पदार्थको सम्बन्धमा प्रमाण–चिन्हको प्रयोग गर्न नहुने उल्लेख गरेको छ । ऐनको उक्त व्यवस्थाको बर्खिलाप काम गर्ने व्यक्तिलाई तीन हजार रुपियाँसम्म जरिवाना वा छ महिनासम्म कैद वा दुवै सजायको व्यवस्था गरिएको छ ।

यसै गरी प्रतिस्पर्धा बजार प्रवद्र्धन तथा बजार संरक्षण ऐनको दफा १० अनुसार कुनै पनि वस्तु तथा सेवाको उत्पादन वा वितरण गर्ने व्यक्ति वा प्रतिष्ठानले भ्रमपूर्ण विज्ञापन गर्न गराउन हुँदैन भनी उल्लेख गरेको छ ।

उक्त ऐनबमोजिम वस्तु वा सेवाको वास्तविक गुण, परिमाण वा मूल्यभन्दा फरक हुने गरी भ्रमपूर्ण वा झूटा विवरण दिई विज्ञापन गरेमा, वस्तु वा सेवाको वारेन्टी, फाइदा, गुण वा आयुसम्बन्धी झूटा विज्ञापन गरी बजार प्रवद्र्घन गर्न नहुने जनाइएको छ ।

यदि कसैले यस्तो विपरीत काम कारबाही गरे गराएमा त्यस्तो काम कारबाही गर्ने गराउने व्यक्ति वा प्रतिष्ठानलाई २५ हजार रुपियाँसम्म जरिवाना गरिने व्यवस्था छ ।