‘सायाबुङ’ प्रदर्शनका लागि तयार

title
आइतवार, भदौ ३१, २०७५

काठमाडौं । साया राईले निर्माण गरेको चलचित्र ‘सायाबुङ’ (शीरफूल)को विशेष प्रदर्शनीका लागि तयारी पूरा भएको छ । द पाल्म ग्रुप प्रा.लि.को ब्यानरमा निर्माण गरिएको चलचित्र ‘सायाबुङ’ किरात राई सँस्कृतिमा आधारित चलचित्र हो । चलचित्रमा किरातीहरुको परम्परा, मूल्य र मान्यतालाई समेटिएको निर्माण पक्षले जानकारी दिएको छ ।

चलचित्रको नाम किराती सभ्यता र भाषाबाट लिइएको भएपनि पनि चलचित्र नेपाली भाषामा रहेको छ । पूर्वी नेपालको उच्च पहाडी भेगको संस्कृतीलाई विशेष रुपमा समेटिएको निर्देशक भगिराज राईले बताए । चलचित्र बारे थप प्रष्ट्याउँदै राईले भने ‘सायाबुङ’ अप्ठेरोमा फुलेको फुल हो ।

हिमाली भेगमा गोठ बसाउने चलन छ । जुन बस्तीभन्दा धेरै टाढा हुन्छ । त्यहि गोठ पालन गर्ने सुदुर भेगमा रहेको युवा र वस्तीमा रहेकी युवतीबीच हुर्किएको प्रेम कथालाई चलचित्रमा मार्मित तवरले देखाइएको छ । चलचित्रको छायांकन पूर्वी नेपाल भारत सीमाना सन्दकपुर, फालेलुङ, सिदिन, सिलौटी, लब्रेकुटी र भारतको मणीपुरका रमणीय स्थानहरुमा गरिएको छ ।

चलचित्रमा सौजन सुब्बा, निशा राई, सगुन सुसारा, साया राई, लगायतको अभिनय रहेको छ । भोगिराज राईको लेखन निर्देशन, भक्त सुनुवार र उदय नेमबाङको संगीत रहेको चलचित्र लाई देबजंग थापाले सम्पादन गरेका छन् । चलचित्रको गीतमा दिपक लिम्बू, रजिना रिमाल, दिपा लामा, उदय नेम्बाङ गौरिमान राई र भगिराज राईले आवाज दिएका छन् ।

चलचित्रलाई काठमाडौंको विशेष प्रदर्शनपछि झापा, बिर्तामोड, धरान लगायत नेपालको अन्य ठाउँमा समेत प्रदर्शन गरिने गरिनेछ । त्यसैगरी भारतको दार्जीलिङ, सिक्किम, मणिपुर, कालेबुङ, दिल्ली र साउदी अरबमा पनि प्रदर्शन गर्ने निर्माण पक्षले जनाएको छ ।