एसओएस वालग्रामद्वारा पदाधिकारी र कर्मचारी सम्मानित

title
बुधबार, अशोज ३, २०७५

भक्तपुर । अभिभावक गुमाएका वालवालिकाको ‘मायालु घर’ को रुपमा परिचित विश्वव्यापी सामाजिक संस्था ‘एसओएस वालग्राम नेपाल’मा अविछिन्न ३ दशकभन्दा बढी सेवा गरेका वालग्रामका कर्मचारी तथा पदाधिकारीहरुलाई सम्मान गरिएको छ ।
एसओएस वालग्राम नेपालका शुभचिन्तक एसओएस अन्तराष्ट्रियका निवर्तमान अध्यक्ष हेल्मुट कुटिन नेपाल भ्रमणमा आएको मौका पारेर उनीहरुलाई सम्मान गरिएको हो ।
एसओएस वालग्राम नेपालद्धारा सम्मानित हुनेहरुमा एसओएस वालग्राम नेपालका पुर्व अध्यक्ष एवम् वरिष्ठ वालरोग विशेषज्ञ प्रा.डा.हेमांग दिक्षित, निर्वमान अध्यक्ष प्रा.डा.विश्वकेशर मास्के, निर्वतमान राष्ट्रिय निर्देशक एवम् वालग्रामको आकस्मिक सहायता कार्यक्रमका संयोजक श्रीशंकर प्रधानांग, पुर्व संयोजक रमेशकुमार ताम्राकार, हर्मन माइनर विद्यालय सानोठिमीका पुर्व प्राचार्य शंकरप्रसाद पौडेल लगायत छन् ।
एसओएस अन्तराष्ट्रियका निवर्तमान अध्यक्ष एवम् वर्तमान मानार्थ अध्यक्ष हेल्मुट कुटिन, नेपालका अध्यक्ष डा.ज्योतिरत्न धाख्वा र राष्टिय निर्देशक इश्वरीप्रसाद शर्माले उनीहरुलाई प्रशंसापत्र, दोसल्ला तथा खादा दिएर सम्मान गरेका थिए । कार्यक्रममा सम्मानित व्यक्तिका धर्मपत्निहरुलाई पनि माला लगाएर सम्मान गरिएको थियो ।
त्यस अवसरमा एसओएस अन्तराष्ट्रियका निवर्तमान अध्यक्ष कुटिनले संसारभरका एसओएस वालग्राममध्ये नेपालले अभिभावक र परिवार गुमाएका वालवालिकाको उचित स्याहार, संरक्षण र रेखदेखमा विगत ४४ वर्षदेखि गरेको कार्य उल्लेखनीय रहेको चर्चा गरे ।
वालग्राम नेपालले २०७२ सालको विनाशकारी भूकम्पमा तत्कालैदेखि आकस्मिक सहायता कार्यक्रममार्फत भूकम्पपीडित वालवालिका तथा उनीहरुको परिवार र समाजको लागि गरेको कार्य निकै प्रशंसनीय र उदाहरणिय भएको समेत कुटिनले चर्चा गरे ।
कार्यक्रममा एसओएस वालग्राम नेपालका अध्यक्ष डा.ज्योतिरत्न धाख्वा र राष्ट्रिय निर्देशक इश्वरीप्रसाद शर्मा, सम्मानित व्यक्तित्वहरु प्रा.दिक्षित, निर्वमान अध्यक्ष प्रा.मास्के र निर्वतमान राष्ट्रिय निर्देशक प्रधानांगले बोलेका थिए ।
त्यस अवसरमा एसओएस वालग्राम सानोठिमी, जोरपाटी तथा काभ्रेका विद्यार्थीहरुले गायन तथा नृत्य प्रस्तुत गरेका थिए ।