नेपाल अझै पदक विहीन, अब कराँते र बक्सिङमा आशा

title
शुक्रबार, भदौ ८, २०७५

काठमाडौं । एसिया महादेशको सबैभन्दा ठूलो खेल महोत्सव एसियन गेम्स (एसियाड)को १८ औं संस्करण इण्डोनेसियामा जारी छ । विभिन्न स्पर्धाका खेलहरु भइरहेका छन् । पछिल्लो प्रतिस्पर्धामा चीनले शीर्ष स्थान कायमै राखेको छ भने जापानले उसलाई पछ्याइरहेको छ । एसियाडका ४० खेलका ४ सय २० स्पर्धा मध्ये केही खेलको टुंगो लागिसकेको छ भने केही स्पर्धामा खेलाडीले पदक चुम्ने क्रम जारी राखेका छन् ।

पछिल्लो पदक तालिकामा चीन अग्रस्थानमा छ । उसले ५५ स्वर्ण, ४० रजत र २१ कास्यसहित ११६ पदक जित्न सफल भएको छ । चीनलाई पछ्याइरहेको जापानले २५ स्वर्ण, २८ रजत र ३३ कास्यसहित ८६ पदक जित्न सफल भएको छ । त्यसैगरी त्यस्रो स्थानमा रहेको दक्षिण कोरियाले १६ स्वर्ण, २० रजत र २७ कास्यसहित ६३ पदक जितेको छ । चौथो स्थानमा रहेको इरानले १० स्वर्ण, ९ रजत र ८ कास्य गरी कूल २७ पदक जितेको छ ।  आयोजक इन्डोनेसिया ८ स्वर्ण, ६ रजत र १० कास्य गरी २४ पदक जित्दै पाँचौं स्थानाम रहेको छ । छैटौं दिनसम्म जम्मा २६ मुलुकले पदक तालिकामा नाम लेखाउन सफल भएका छन् ।

एसियाली खेलकुदमा नेपालको सहभागिता कीर्तिमानीमा सुधार बाहेकको अझै उपलब्धि हात पर्न सकेको छैन । छैटौं दिनको खेल सकिँदा सम्म नेपाली केही खेलाडीहरुले आफ्नो कीर्तिमानी तोडेपनि नेपालका लागि उपाधि दिलाउन भने सकेका छैनन् । अहिलेसम्म नेपालले सहभागिता लिएकामध्ये ८ खेलको स्पर्धा सकिएको छ ।

पदकको आशा गरिएका तेक्वान्दो उसु लगायत फुटबल, कुस्ती, पेनकेक सिलात, साइक्लिङ, कवड्डी र शुटिङको स्पर्धा सकिएको छ । ब्याडमिण्टन, आर्चरी, स्पोर्ट क्लाइम्बिङ, फेन्सिङ लगायतका खेलको पनि धेरैजस्तो स्पर्धा सकिएको छ, जहाँ नेपाली खेलाडीको प्रदर्शन कमजोर छ । नेपालले पदकको आशा गरेको बाँकी खेलहरु कराते, बक्सिङ, जुडो लगायतको स्पर्धा हुन बाँकी छ । शुक्रबारदेखि बक्सिङ सुरु हुनेछ भने कराते शनिबारदेखि सुरु हुनेछ । प्याराग्लाइडिङको क्रसकन्ट्री स्पर्धा पनि शुक्रबारदेखि सुरु हुनेछ ।

यसअघि जस्तै बिहीबार नेपालले सहभागिता जनाएका स्पर्धामा पनि सकारात्मक नतिजा कम देखियो । ब्याडमिण्टनमा नेपालकी नङशल तामाङले पहिलो चरणमा जित हासिल गरेकी छन् भने पुरुष डवल्समा पनि नेपाल पहिलो खेलमा विजयी भयो । तर, पौडी, भारत्ततोलन, कवड्डी, स्क्वास प्याराग्लाइडिङ, आर्चरी लगायतका खेलमा नेपालले जित हासिल गर्न सकेन ।

नङशल प्रिक्वाटरफाइनलमा
ब्याडमिन्टनको महिला सिंगल्समा नेपालकी नङशल तामाङ बिहीबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेकी छन् । जीबीके इस्तोरामा भएको खेलमा नङशलले माल्दिभ्सकी खेलाडीलाई २१–१९ र २१–१५ को सोझो सेटमा पराजित गरिन् । महिला सिंगल्सको अर्को खेलमा जेशिका गुरुङ थाइल्यान्डकी खेलाडीसँग २१–७ र २१–५ को सेटमा पराजित भइन् । पुरुष डबल्समा पनि नेपालका विकास श्रेष्ठ र नवीन श्रेष्ठको जोडीले मंगोलियाका खेलाडीलाई २१–१२ र २१–७ को सीधा सेटमा हराउँदै प्रि–क्वाटरफाइनलमा पुगे । सोही स्पर्धाको अर्को खेलमा भने पाकिस्तानी जोडीले नेपालका दीपेश धामी र रत्नजित तामाङको जोडीलाई २१–१९ र २२–२० को सोझो सेटमा पन्छाए । मिक्स डबल्समा इन्डोनेसियाका खेलाडीले रत्नजित र नङशलको जोडीलाई २१–१३ र २१–२१–७ तथा हङकङले दीपेश धामी र जेशिका गुरुङको जोडीलाई २१–११ र २१–११ को सोझो सेटमा पाखा लगाए । महिला डबल्समा थाइल्यान्डका खेलाडीले जेशिका गुरुङ र नङशलको जोडीलाई २१–७ र २१–५ ले निराश पारे । ब्याडमिन्टनमा नेपालले शुक्रबार ५ खेलमा प्रतिस्पर्धा गर्नेछ ।

भारोत्तोलनमा १५ औं स्थान
भारोत्तोलनको पुरुष ७७ केजीमा नेपालका विकास श्रेष्ठले १५ औं स्थान हासिल गरेका छन् । २० प्रतिस्पर्धाी सहभागी उक्त स्पर्धामा विकासले स्न्याचमा ११३ केजी र क्लिन एन्ड जर्कमा १३५ केजी गरी जम्मा २४८ केजी भार वहन गरे । स्न्याचको पहिलो लिफ्टमा ११३ केजी वजन उठाएका १२ औं सागका रजतधारी विकासले दोश्रो र तेश्रो लिफ्टमा समान ११८ केजी उठाउने प्रयास गरेपनि सफल भएनन् । क्लिन एन्ड जर्कको पहिलो लिफ्टमा विकास १३५ केजी भार वहन गर्न असफल रहे । दोश्रो लिफ्टमा बिकासले पहिलो लिफ्टकै जत्ति वजन उचाल्न सफल भएका थिए । तेश्रो लिफ्टमा १३७ केजी उठाउन आएका विकास सफल हुन सकेनन् ।
भारोत्तोलनमा नेपालबाट ४ खेलाडी सहभागी छन् । दुई खेलाडी सन्जु चौधरी र कमलबहादुर अधिकारी राष्ट्रिय कीर्तिमान बनाउन सफल रहे । बाँकी एक खेलाडी तारादेवी पुनले अगष्ट २६ तारिखमा महिला ७५ केजी तौलसमूहमा भाग लिनेछिन् ।

तेक्वान्दोमा पदकविहीन
एसियाली खेलकुदमा नेपाललाई सर्वाधिक पदक दिलाएको तेक्वान्दोमा नेपाल पदकविहीन बेनको छ । एसियाडमा नेपालले हालसम्म १ रजत र १३ कांस्य गरी १४ पदक जितेको छ ।
तेक्वान्दोको अन्तिम दिन दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पुरुष ६८ केजीमुनि ज्ञानेन्द्र हमालले पहिलो चरणमा भुटानका जिग्मे वाङछुकलाई ३९–१७ ले पराजित गर्दै प्रिक्वाटरफाइनलमा प्रवेश गरेका थिए । प्रिक्वाटरफाइनलमा ज्ञानेन्द्र मलेसियाका रोजाइमी रोजालीसँग ३०–२ को फराकिलो अन्तरले चुके । अर्की खेलाडी अस्मिता खड्का महिला ४९ केजीमुनि इरानकी नाहिद कियानीचान्देहसँग ४३–४ को भारी अन्तरले हारिन् ।

स्पोर्ट क्लाइम्बिङ
पालेम्वाङमा भएको स्पोर्ट क्लाइम्बिङको पुरुष स्पिड्सको नेपाल छनोट चरणबाटै बाहिरिएको छ । नेपालका पेम्बा शेर्पा र प्रणीलमान श्रेष्ठ २७ खेलाडी सहभागी स्पर्धामा क्रमशः २६ औं र २७ औं भए । शीर्ष १६ मा रहने खेलाडी पहिलो चरणबाट छनोट हुने प्रावधान छ । पुरुष कम्बाइन छनोट चरण पनि नेपालले पार गर्न सकेन । पेम्बा २२औं र प्रणील २१औं भए । २३ खेलाडी सहभागी यो स्पर्धामा मंगोलिया पुछारमा रह्यो । शुक्रबार नेपालले पुरुष बोल्डरिङको छनोट चरण खेल्नेछ ।