जिल्ला स्तरीय करातेमा मिसन डोजो बुटवल च्याम्पियन

title
बुधबार, भदौ २०, २०७५

रुपन्देही । रुपन्देही सियारी ७ अमवास्थित रोज वड एकेडेमीको प्राङ्गणमा प्रथम पदम बहादुर सिंजाली स्मृति जिल्ला स्तरीय कराँते प्रतियोगिता सम्पन्न भएको छ ।

करातेका प्रशिक्षक स्व. पदम बहादुर सिंजालीको सम्झनामा जापान गोजु रियो कराँते डो केन्वाकाई नेपाल संघ रुपन्देही शाखाले आयोजना गरेको उक्त कार्यक्रम संयोजक मेख बहादुर क्षेत्रीको सभापतित्व तथा सियारी गाउँपालिका अध्यक्ष अयोध्या थारुको प्रमुख आतिथ्यता सम्पन्न भएको हो ।

रुपन्देही जिल्ला भरिका १७ वटा टिमबाट ३ सय भन्दा बढी खेलाडीहरु सहभागी रहेको उक्त प्रतियोगितामा १७ स्वर्ण, ३८ रजत र ७६ कास्य पदकका लागि प्रतिस्पर्धा भएको थियो । जसमा ८ स्वर्ण, ५ रजत र ६ कास्य पदक सहित मिसन डोजो बुटवल टिम च्याम्पियन बन्न सफल रहयो भने ५ स्वर्ण, ४ रजत र ६ कास्य पदक सहित रोज वड डोजो सेकेन्ड च्याम्पियन बन्न सफल रहयो ।

प्रतिस्पर्धाको विभिन्न विधा अन्तर्गत महिला उत्कृष्ट खेलाडीको उपाधी मिसन डोजोकी शिवानी बस्नेतले हात पारिन भने त्यस्तै पुरुष उत्कृष्ट खेलाडीको उपाधी रोज वड डोजोका रेशम अर्यालले प्राप्त गर्न सफल भए र उदयमान खेलाडीको उपाधी भने रोज वड डोजोकै आकाश थापाले प्राप्त गरे ।

कार्यक्रममा विशिष्ट अतिथिका रुपमा केन्वाकाईका केन्द्रीय उपाध्यक्ष रवि राना, स्व. गुरु पदम बहादुर सिंजालीकी धर्मपत्नी ज्ञानकुमारी सिंजाली रहेका थिए भने अतिथिको रुपमा नेपाल कराते महासंघका केन्द्रीय सदस्य अमिर राई, केन्वाकाईका केन्द्रीय सदस्य एवं ए.के.फ. रेफ्री सन्दीप थापा, कराँते खेलाडी होम गुरुङ, गोजुरियो मिसनका अध्यक्ष काजी राना, केन्वाकाई रुपन्देही जिल्ला सल्लाहकार श्रीप्रसाद थापा, रोज वर्ड एकेडेमीका अध्यक्ष भरत अर्याल, प्राचार्य कृष्ण गौतम, प्रबन्ध निर्देशक हेम खत्री, सह–प्राचार्य अशोक घिमिरे, जनता मा.वि.का शिक्षक अविराम वि.क., त्रिवेणी नि.मा.वि.का प्रधानध्यापक मथुरा यादव, स्थानीय अभिभावक यम बहादुर मगर र विजेन्द्र अर्याल लगायतको उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन सागर थापाले गरेका थिए ।

कार्यक्रममा खेलाडी प्रशिक्षक, अतिथि तथा खेलप्रेमी दर्शकहरु गरी करिब ८ सय भन्दा बढी दर्शकहरुको उपस्थिति रहेको कार्यक्रम आयोजक समितिले जानकारी गराएको छ ।