उत्कृष्ट सूचना अभियन्ता पुरस्कार दीपक आचार्यलाई

title
आइतवार, अशोज १४, २०७५

काठमाडौं । यस वर्षको उत्कृष्ट सूचना अभियन्ताको पुरस्कार सामूदायिक सूचना समाज कास्कीका अध्यक्ष दीपक आचार्यलाई प्रदान गरिएको छ । राष्ट्रिय सूचना आयोगले प्रदान गर्ने उक्त पुरस्कारबाट लामो समयदेखि सूचनाको हक कार्यान्व्यनमा सक्रिय आचार्यलाई प्रदान गरिएको हो ।

नेपाल सरकारका सचिव मणिराम ओझा, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सह सचिव यामलाल भुसाल, सामान्य प्रशासन मन्त्रालयका सह सचिव सुरेश अधिकारी, राष्ट्रिय सूचना आयोगका सह सचिव गिता कुमारी होमागाइ, नेपाल प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठ , नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्य सदस्य रहेको छनोट समितिले यसवर्षको पुरस्कार आचार्यलाई दिने निर्णय गरेको थियो ।

आयोगको कार्यालयमा भएको कार्यक्रममा प्रधान न्यायाधीश ओमप्रकाश मिश्रले आचार्यलाई उक्त पुरस्कार प्रदान गरेका हुन् । उनलाई ३० हजार नगदसहितको कदरपत्र प्रदान गरिएको हो । आयोगले तीन वर्ष यता देशभरबाट सूचनाको अधिकार सम्बन्धी क्रियाकलापमा सक्रिय अभियन्तालाई यस्तो पुरस्कार प्रदान गर्दै आएको छ ।

कार्यक्रममा प्रधानन्यायधिश मिश्रले नेपालमा सूचनाको हकको संबैधानिक सुनिश्चितता स्थापित हुँदै गएको बताए । सूचनामा नागरिकको सर्वव्यापी पहुँचका लागि आयोगले खेलेको भूमिको प्रसंसा गरे। आयोगको कार्यलाई कानुनको पालनासँगै थप व्यवसायीक बनाउनुपर्नेमा उनको जोड थियो ।

आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले आयोगलाई स्वतन्त्र रुपमा काम गर्न दिनुपर्ने भन्दै सूचना प्रवाह गर्ने बिषयमा हस्तक्षेप हुन नहुने बताए ।