ट्रिटन स्कुलमा भगवान श्रीकृष्णको लीला (फोटोफिचर)

title
आइतवार, भदौ १७, २०७५

काठमाडौं । भनिन्छ, भगवानको लीला अपरम्पार हुन्छ । हो पनि । त्यसमाथि द्वापर युगका भगवान श्रीकृष्णको लीला त झनै अपरम्पार मात्रै होइन उनमा अलौकिक शक्ति र अद्भूत कला थियो भनेर श्रीकृष्ण गाथा महाभारत र गीता पुराणमा पढ्न पाइन्छ ।

महाभारत र गीतामा उल्लेख गरिएझैं भगवान श्रीकृष्णको जन्मदेखि मख्खन चोरी, १६ सय गोपीनीसंगको प्रेम, गोवर्धन पर्वत उचालेर ग्वालाहरुको संरक्षण, कालिया नागको वध, आफ्ना परममित्र सुदामासंगको भेट, अर्जुनलाई विराट रुप दर्शनलगायतका कथा समेटेर १८ वटा दृष्यमार्फत शनिबार सुविधानगर तिनकुनेस्थित ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुलका विद्यार्थीले अभिभावकहरुलाई श्रीकृष्ण लीला नै देखाइदिए । त्यसअवसमा श्रीकृष्णलाई झुलामा राखेर झुलाइएको पनि थियो ।

श्रीकृष्ण जन्मास्टमीको पुर्वसन्ध्यामा विद्यालयले दोस्रोपटक विद्यालय प्रांगणमा प्रत्यक्ष दृष्यमार्फत वृहत कृष्णलीलाको आयोजना गरेको हो । विद्यालयकी भाइस प्रिन्सिपल ममता शाहको अवधारण अनूसार विद्यालयले दोस्रोपटक विद्यालयका विद्यार्थीहरुलाई सहभागी गराई श्रीकृष्ण लीला देखाएको हो । विद्यालयले गतवर्षको श्रीकृष्ण जन्मास्टमीको अवसरमा पनि यसप्रकारको श्रीकृष्ण लीला आयोजना गरी अभिभावकहरुलाई देखाएको थियो ।

विद्यालयको ६ देखि १० कक्षासम्मका विद्यार्थीहरुलाई सहभागी गराई मञ्चन गराइएको श्रीकृष्ण लीलामा विद्यार्थीहरु डेढ दर्जन विद्यार्थी कृष्ण बनेका थिए भने तीनदर्जनजति विद्यार्थी गोपिनी र राधाको अलग अलग भूमिकामा थिए । सुदामा, अर्जुन, ग्वाला, कंशलगायतमा अन्य २ दर्जन विद्यार्थीले भूमिका निभाएका थिए । कृष्ण, नन्दलाला, कन्हैया, कालेकृष्ण लगायतका नामले परिचित श्रीकृष्ण जन्मेर असत्यको नाश गर्दै सत्यको विजय गराएको अवसरमा संसारभरका हिन्दु धर्मावलम्वीहरुले श्रीकृष्ण जन्माष्टमी मनाउने गरेका हुन ।

यसै सन्दर्भमा ट्रिटन स्कुलले पनि विद्यालयलाई नै पवित्र कृष्णभूमिको रुपमा श्रीकृष्ण जन्माष्टमी मनाउँदै कृष्णलीला देखाएको हो ।  पछिल्लो समयमा विद्यार्थीहरुले हिन्दु धर्म र संस्कृतिका विविध पक्ष बिर्सिँदै गएकोले नीजि विद्यालयले विद्यार्थीहरुलाई नै सहभागी गराएर श्रीकृष्णजन्माष्टमी मनाउन थालेको विद्यालयकी भाइस प्रिन्सिपल ममता शाहले बताइन ।

कार्यक्रमको प्रमुख अतिथि रहेकी चर्चित वरिष्ठ गायीका लोचन भट्टराईले भगवान श्रीकृष्णको भजन गाउँदै असत्यको अन्त्य गर्दै सत्यमाथिको विजय प्राप्त गर्न भगवान श्रीकृष्णले देखाउनुभएको मार्गको अनुशरण गर्न विद्यार्थीहरुलाई आग्रह गरीन् ।
नेपाली कलासंस्कृति धर्मको संरक्षणमा विद्यालयले पुरयाएको योगदानको पनि उनले खुलेरै प्रशंसा गरीन ।

कार्यक्रममा ट्रिटन कलेज तथा ट्रिटन स्कुलका संस्थापक अध्यक्ष विश्वनाथ प्रसाद शाह, एकिृत उपभोक्ता संघकी उपाध्यक्ष हिरा थापामगर, सल्लाहकार पदमनारायण श्रेष्ठ, ट्रिटन योग समितिका अध्यक्ष लवराज जोशी, लेखिका तथा गायीका शान्ति शर्मा, ट्रिटन स्कुलका निर्देशक राजन सुवेदीलगायतले विद्यालयले हिन्दू धर्म संस्कृतिको जगेर्नामा पुर्याएको योगदानको प्रशंसा गरेका थिए । त्यस अवसरमा विद्यार्थीहरुले करीव २० फिटमाथि झुण्ड्याएको माटोको हाँडी फुटाएका थिए ।