UPDATE- डडेल्धुरा बस दुर्घटना, १८ जनाको मृत्यु

title
शुक्रबार, मंसिर ७, २०७५

डडेल्धुरा । डडेल्धुराबाट डोटी जाँदै गरेको बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । अन्य २७ जना घाईते भएका छन् ।केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस दुर्घटना भएको हो ।

अमरगढी नगरपालिका–८ स्थित उग्रताराको मन्दिरमा लागेको मेला भर्न गएका व्यक्ति सवार बानिडुग्रिसइनस्थित पीसजोन एकेडेमीको बस दुर्घटनामा परेको हो ।  दुर्घटनामा १० जनाको घटना स्थलमै मृत्यु भएको हो भने अन्य ८ जानको अस्तपलामा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा पाँच महिला र १३ पुरुष रहेका छन् ।

मृतक मध्ये ७ जनाको सनाखत भएको छ । दिपायल सिलगढी नगरपालिका–ं ४ बस्ने ३५ वर्षीया सशी विक, सोही नगरपालिका वडा नं ११ बस्ने २५ वर्षीया गोदा भाट, सोही नगरपालिका ८ बस्ने ४० वर्षीय कैलाश रावल, ४० वर्षीय योगेन्द्र रावल, डडेल्धुराको नवदुर्गा गाँउपालिका–३ का २२ वर्षीय चक्र धामी, डोटी शिखर नगरपालिका–१० बस्ने १६ वर्षीय रोहित बलायर र ठेगाना नखुलेकी माया रावलको सनाखत भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका इन्चार्ज गणेशसिंह नागरीले जानकारी दिनुभयो ।

दुर्घटनामा २७ जना घाइते छन् । घाइते मध्ये १६ जनाको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ भने ८ जनाको धनगढीमा र तीन जनाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । बसमा ४३ जना यात्रु सवार रहेको बुझिएको छ । बस सडकबाट करिब २०० मिटर तल खोलामा खसेको थियो ।