
कोशी प्रदेश सरकार पूर्वमन्त्री तथा एमाले नेता लीलाबल्लभ अधिकारी पक्राउ परेको विषयमा कोशी प्रदेशसभाले सूचना टाँस गरेर जानकारी दिएको छ । कोशी प्रदेश सभाले प्रदेशसभा नियमावलीको नियम १९० को उपनियम २ अनुसार जानकारी दिएको उल्लेख छ । मानव बेचबिखनको आरोपमा अनुसन्धानका लागि प्रहरीले आइतबार अधिकारीलाई विराटनगरबाट पक्राउ गरि काठमाडौं ल्याएको छ । उनलाई यसअघि एमालेले पार्टीको सबै जिम्मेवारीसहित साधारण सदस्यबाट पनि निलम्बन गरिसकेको छ । प्रदेश सभाले सूचना टाँस गरेर जानकारी दिएसँगै अधिकारी कोशी प्रदेश सांसदबाट निलम्बित भएका छन् । उनी मोरङको निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट २०७९ को निर्वाचनमा विजयी भएका थिए । उक्त क्षेत्रबाट उनी दुई पटक विजयी भइसकेका छन्। अधिकारी १७ हजार ५५२ मत ल्याएर विजयी भएका थिए । उनले कांग्रेस उम्मेदवार विनोद कार्कीलाई दुई हजार २०० मतले पराजित गरेका थिए ।