
काठमाडौं। नेपालले शुक्रबार श्रीलंकासँग खेलेर एसीसी यू–१९ एसिया कपमा आफ्नो यात्रा सुरु गर्दै छ। यूएईमा हुने प्रतियोगितामा दिनको अर्को खेलमा अफगानिस्तान र बंगलादेश आमनेसामने हुनेछन्। नेपाल र श्रीलंका शारजहाँ तथा अफगानिस्तान र बंगलादेश दुबईमा खेल्नेछन्।
यी चारै टोली समूह ‘बी’ मा छन्। समूह ‘ए’ मा भारत, पाकिस्तान, यूएई र जापान छन्। समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्। नेपाल रहेको समूहमा सबै टेस्ट राष्ट्र भए पनि नतिजाका हिसाबमा कुनै दबाब नरहेको प्रशिक्षक शक्ति गौचन बताउँछन्। खेलाडी हुँदा लोकप्रिय छवि बनाएका उनले पहिलो पटक मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका हुन्।
‘नेपाल पहिला पनि सेमिफाइनलसम्म पुगेको थियो, त्यसैले सेमिफाइनल पुग्नु कुनै नौलो होइन, कठिन भने छ,’ प्रशिक्षक गौचनले भने, ‘हामीले हारेर गुमाउनु केही छैन, त्यसैले हामीमाथि कुनै दबाब छैन।’ एसियाली क्रिकेट परिषद् (एसीसी) ले आयोजना गर्ने यो प्रतियोगितामा नेपालले सन् २०१२ देखि निरन्तर खेल्दै आएको छ।
सन् २०१७ को संस्करणमा भारतमाथि १९ रनको विजय हात पार्दै नेपाल सेमिफाइनल पुगेको थियो। अन्यमा भने नेपाललाई सेमिफाइनलमा पुग्न धौधौ पर्दै आएको छ। एकदिवसीय अन्तर्राष्ट्रिय खेलिसकेका हेमन्त धामीको नेतृत्वमा रहेको नेपालसामु यसपालि भने कठिन चुनौती छ। नेपाली टोलीका आकाश त्रिपाठी, अर्जुन कुमाल र विकेटकिपर उत्तम थापामगरले जनवरीमा यू–१९ विश्वकप खेलिसकेका छन्।
श्रीलंकाले सन् २०१८ र २०२१ मा गरी दुई पटक फाइनल खेलिसकेको छ। तर, पछिल्लो पटक श्रीलंकालाई उछिन्दै यूएई सेमिफाइनल पुगको थियो।
अम्पायरिङमा गुरुङ
नेपालका सञ्जय गुरुङले एसीसी यू–१९ एसिया कपमा अम्पायरिङ गर्ने भएका छन्। त्यसका लागि उनी बुधबार यूएई लागिसकेका छन्। उनले लगातार दोस्रो वर्ष एसीसी यू–१९ एसिया कपमा अम्पायरको भूमिका निभाउन लागेका हुन्। गत वर्ष डिसेम्बरमा यूएईमै भएको प्रतियोगिताको पछिल्लो संस्करणको चार खेलमा निर्णायक भएका थिए।
रूपन्देही जिल्ला क्रिकेट संघका सचिव गुरुङ लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष पनि हुन्। उनले सन् २००९ देखि अन्तर्राष्ट्रिय क्रिकेटमा अम्पायरिङ गर्न सुरु गरेका थिए।
नेपाली राष्ट्रिय क्रिकेट टोलीको पहिलो पुस्ताका सदस्य गुरुङले एक एकदिवसीय अन्तर्राष्ट्रिय, ११ ट्वान्टी–२० अन्तर्राष्ट्रिय र चार महिला ट्वान्टी–२० अन्तर्राष्ट्रियमा अम्पायरिङ गरिसकेका छन्।