
राष्ट्रिय सभाको बैठक क्यालेन्डर बिनै बस्न थालेको छ । पछिल्लो समयमा संघीय संसदमा दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधि सभा क्यालेन्डर बनाएर बस्दै आएका थिए । दुवै सदनले फागुन १५ गतेसम्मको क्यालेन्डर बनाएका थिए । फागुन १५ गते यताका लागि दुवै सदनले क्यालेन्डर बनाएको छैन । आइतबार राष्ट्रिय सभाको बैठक बसेको थियो । यो बैठक क्यालेन्डर बिनै बसेको हो । राष्ट्रिय सभाको अर्को बैठक यही फागुन २२ गतेका लागि राखिएको छ । उक्त बैठकमा के हुन्छ भन्ने विषयमा सांसदहरू अनविज्ञ छन् ।
क्यालेन्डर बनाउँदा के कस्ता विषय अगाडि बढ्छन भनेर सम्भावित कार्यसूचीबारे थाहा हुन्थ्यो । क्यालेन्डर नहुँदा फागुन २२ गतेको बैठकमा के कस्ता विषय अगाडि बढ्छन् भनेर जानकारी हुन नसकेको हो । प्रतिनिधि सभाको बैठक यही फागुन २१ गते बस्दैछ । प्रतिनिधि सभाको पनि फागुन १५ गते यताको संसदीय क्यालेन्डर बन्न सकेको छैन ।