जोडिनुहोस
मङ्लबार, फाल्गुन २०, २०८१
मङ्लबार, फाल्गुन २०, २०८१
  • होमपेज
  • खानेपानीमन्त्री यादव र भारतीय जलशक्तिमन्त्री पाटीलद्वारा वास क्षेत्रको विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

खानेपानीमन्त्री यादव र भारतीय जलशक्तिमन्त्री पाटीलद्वारा वास क्षेत्रको विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

 खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका जलशक्तिमन्त्री सिआर पाटीलले सोमबार खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको विकास सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

भारतको राजधानी नयाँ दिल्लीमा आयोजित एक बिषेश कार्यक्रमकाबीच खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको विकास सम्बन्धी महत्त्वपूर्ण समझदारी पत्रमा नेपाल सरकारकातर्फबाट मन्त्री यादव तथा भारत सरकारकातर्फबाट जलशक्तिमन्त्री सिआर पाटीलले हस्ताक्षर गरेको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘भारत र नेपाल सरकारबीच खानेपानी, सरसफाइ र फोहोर व्यवस्थापन क्षेत्रमा सहयोग विस्तार गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको तथा खानेपानीको स्रोतको विकास, स्वच्छ पानीको पहुँच, सरसफाइ प्रवर्द्धन, फोहोर व्यवस्थापन र नेपाल सरकारको प्रयासलाई सशक्त बनाउने उक्त सम्झौतापत्रको लक्ष्य रहेको छ ।

दुवै देशहरूबिच मैत्रीपूर्ण सहकार्यलाई प्रवर्द्धन गर्ने र स्वच्छता क्षेत्रमा अन्तर–सरकारी सहकार्यलाई सुदृढ गर्दै जल सुरक्षासम्बन्धी नेपाल सरकारका प्रयासहरू तथा चिन्ताहरूलाई स्वीकार गरेर सुरक्षित वातावरणमा जनताको जीविकोपार्जनलाई सक्षम तुल्याउने उद्देश्य राखिएको उक्त सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

सम्झौतामा भूमिगतपानी व्यवस्थापन, प्रविधि तथा सूचना आदान–प्रदान, वर्षातको पानी सङ्कलन तथा मापन, प्रविधि साझेदारी, नेपाल सरकारलाई प्रविधि तथा तालिम सहयोग रहने उल्लेख गरिएको छ । उक्त सम्झौताले भारत र नेपालबीच खानेपानी तथा सरसफाइ क्षेत्रमा आपसी सहयोग बलियो बनाउने लक्ष्य राखिएको छ ।

यसैबीच नेपालका लागि भारतीय राजदूतावासले यो समझदारीपत्रले भारत र नेपालले फोहोरमैला व्यवस्थापन लगायत पानी, सरसफाइ र स्वच्छता क्षेत्रमा सहयोग सुदृढ गर्ने विश्वास लिएको छ ।

धेरै टिप्पणी गरिएका