
काठमाडौं- प्रहरीले काठमाडौं महानगरपालिका-१४ कलंकीमा चिया पसल गर्ने एकजना महिलालाई नक्कली नोट कारोबार गरिरहेको अवस्थामा पक्राउ गरेको छ ।
कलंकीमा चिया पसल चलाउने तारादेवी डंगोललाई नेपाली एक हजार दरका ५ सय १५ थान नक्कली नोटसहित शनिबार राति प्रहरीले पक्राउ गरेको हो । डंगोलले नक्कली नोटको कारोबार गरेको सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनको पसलमा छापा हानेको थियो ।
त्यही छापाका क्रममा प्रहरीले एक हजार दरका ५ सय १५ थान नोट बरामद गरेको हो । प्रहरीले डंगोललाई हिरासतमा लिएर अनुसन्धान अघि बढाइसकेको छ ।