
काठमाडौं। सभामुख देवराज घिमिरेले आज (शुक्रबार)देखि सुरु भएको संघीय संसद्को हिउँदे अधिवेशनले कानून निर्माण र जनसरोकारका मुद्दाहरूको सम्बोधनका लागि फलदायी हुने बताएका छन् ।
प्रतिनिधि सभाको पाँचौँ अधिवेशनमा स्वागत गर्दै सभामुख घिमिरेले संसदीय गतिविधिमा सफलताको शुभकामना व्यक्त गरेका हुन् ।
‘प्रतिनिधि सभाको पाँचौँ अधिवेशनमा स्वागत गर्दै माननीयज्यूरूलाई संसदीय गतिविधिमा सफलताको शुभकामना व्यक्त गर्दछु,’ सभामुखले भने, ‘आजदेखि सुरु भएको अधिवेशन कानून निर्माण र जनसरोकारका मुद्दाहरूको सम्बोधन लगायतमा फलदायी हुने विश्वास लिएको छु ।’
संसद्लाई लोकतन्त्रको मन्दिरको रूपमा लिइने भन्दै उनले संसद्मा व्यक्त भएका विचारलाई परिष्कृत गर्दै नीति निर्माणसम्म पुग्ने गरेको बताए ।
‘संसदमा विवाद, छलफल र बहस हुनु नौलो होइन, तर हाम्रा निचोडहरू सहमतिको संगमस्थल बन्नुपर्दछ,’ सभामुखले भने, ‘जनताको अभिमत बोकेका राजनीतिक दलहरू साँघुरो गल्लीमा सीमित नभई, राष्ट्रिय हितको विशाल मार्गमा अघि बढ्नुपर्छ ।’
उनले सत्तापक्ष र प्रतिपक्ष दुवैले तर्क र विचारको सम्मानजनक आदानप्रदानबाट संसद्लाई प्रभावकारी बनाउन दायित्व निर्वाह गर्नेमा पनि विश्वस्त व्यक्त गरे ।
‘परस्पर सम्मान, सहकार्य र एकताबाट नै हामीले मुलुकका विद्यमान समस्या निरूपण गर्न र नीति निर्माणका लागि ऐतिहासिक सफलता प्राप्त गर्नेछौँ,’ सभामुखले भने, ‘अतः विगतका असल अभ्यासलाई निरन्तरता दिँदै राष्ट्र र जनताको हितमा काम गर्न हामी सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास लिएको छु ।’