
काठमाडौं । देशभर डेंगी संक्रमितको संख्या २ हजार नाघेको छ । सन् २०२४ जनवरीयता २९ जुलाईसम्म २ हजार ६१ जना संक्रमित भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।
जसमध्ये जुलाईका २९ दिनमा ५७४ संक्रमित थपिएका हुन् । यो वर्ष (सन् २०२४)मा डेंगी संक्रमण ७३ जिल्लामा फैलिएको छ । वाग्मती प्रदेशमा सबैभन्दा धेरै ६६६ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा धेरै २४९ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ ।
झापामा १३०, चितवनमा १०५, तनहुँमा ८७, मकवानपुरमा ७८, कास्कीमा ७४, भोजपुरमा ६२, काभ्रेमा ६०, ओखलढुंगामा ५९ र धनकुटामा ५८ जनामा डेंगी पुष्टि भएको छ । यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ । मुस्ताङ, डोल्पा, हुम्ला र जुम्लाबाहेक सबै जिल्लामा डेंगी देखिएको ईडीसीडीले जनाएको छ ।