जोडिनुहोस
  • होमपेज
  • नवनियुक्त आईजीपीका चुनौती ?

नवनियुक्त आईजीपीका चुनौती ?

प्रकाश रायमाझी  । नवनियुक्त ३१ औँ आईजीपी दीपक थापालाई अहिलेलाई कार्यसफलताको शुभकामना मात्र दिन चाहेँ । उहाँको कार्यकालमा सम्झनलायक केही काम भएछन् भने बधाई एवं शुभकामना म आफैँ गएर दिनेछु । अन्यथा, भित्तामा फोटो टास्नका लागि मात्र आउने–जाने आईजीपीको केही औचित्य रहँदैन ।
नवनियुक्त आईजीपीले प्रहरी बललाई मर्यादित बनाउने हो भने सबैभन्दा पहिले बँधुवा मजदुरका रूपमा घरघरमा खटाइएका सुरक्षाकर्मी÷प्रहरीलाई पेसागत कर्ममा लगाउन सात दिनभित्र फिर्ता गर्नुपर्नेछ । राष्ट्रको सान र मान बढाउनुपर्ने, जनतामा उत्तरदायी सरकारको प्रत्याभूति गराउनुभर्ने प्रहरी नेता, उच्चपदस्थ कर्मचारी वा पूर्वप्रहरी अधिकृतका घरमा ड्राइभर, भान्से र घरेलु मजदुरका रूपमा रहनुपर्ने अवस्था पटक्कै शोभनीय होइन ।

एकातिर प्रहरी संगठनमा जनशक्तिको कमी छ भने अर्कोतिर सुरक्षाका नाममा शक्तिकेन्द्रका अनुचरहरूकहाँ पीएसओका रूपमा सयौँ प्रहरी खटाइएका छन् । समाजमा रवाफ प्रदर्शनका लागि मात्र सुरक्षाकर्मी अघिपछि कुदाउने गलत परम्परालाई अन्त्य गर्न नयाँ आईजीपीले साहस देखाउनुपर्ने छ । अहोरात्र सुरक्षामा खटिने प्रहरीको मनोबल उच्च गर्न यस सम्बन्धी कार्यविधिमा तत्काल संशोधन हुनुपर्ने आवश्यकता छ ।

कार्यसम्पादनमा प्रहरीलाई नम्बर दिँदा गृहमन्त्रालय, आईजीपी, सीडीओ आदिले दिने व्यवस्था भनेको चलखेल गर्ने ठाउँ राखिएको हो । हरेक सरुवा बढुवामा अनियमितता हुने, मनग्य रकम शक्तिकेन्द्रहरुमा नबुझाएसम्म वृत्तिविकास नै रोकिने अवस्था हुनु अत्यन्त दुःखद् विषय हो । अहिलेको व्यवस्थामा परिवर्तन ल्याउँदै प्रहरी संगठन चेन अफ कमान्डका आधारमा चल्ने र कार्यसम्पादन मूल्यांकन पारदर्शी रूपमा संगठनभित्रै कार्यक्षमताका आधारमा हुने व्यवस्था हुनु अत्यन्त आवश्यक छ । त्यस्तै विदेश भ्रमण, पदोन्नति, वृत्ति विकास, तालिम आदिमा समेत समान र न्यायोचित अवसर प्रदान हुनुपर्छ । जसले प्रहरी संगठनको क्षमतावृद्धिमा महत्वपूर्ण भूमिका खेल्नेछ । घुमन्ते प्रहरीले गर्ने असुली नियन्त्रण गर्दै तल्लो तहबाटै प्रहरीको छवि सुधार गर्नुपर्ने पनि देखिन्छ ।

प्रहरी ऐन संशोधन गर्दा ३९ वटा संशोधन प्रस्ताव परेको छ । त्यसमा प्रहरी संगठन र राष्ट्रको हित सर्वोपरि हुने गरी संशोधन गर्न नवनियुक्त आईजीपीले अडान लिनु आवश्यक छ । फितलो अनुसन्धान र गैरजिम्मेवार ढंगबाट मुद्दा चलाउँदा कैयौँ निर्दोष र निरपराधहरू कारागारमा जीवन बिताउन बाध्य भएका छन् । संगठनले कानुनका विद्वान् आईजीपी पाएका कारण उहाँको कार्यकालमा त्यस्ता गतिविधिमा नियन्त्रण मात्र होइन, विगतका कमजोरी र अनुसन्धानमा भएका त्रुटि समेत सुधार्ने पहल होस् । जनाधार गुम्दै गएका कथित नेताहरूको बहकाउ र आदेशमा संगठन प्रभावित नहोस् । प्रहरी संगठन भ्रष्ट नेता–कर्मचारीका आदेश शिरोधार्य गर्नेभन्दा पनि कानुनले निर्दिष्ट गरेका कर्तव्य पूरा गर्नेतिर अग्रसर रहोस् ।
प्रहरीको आवास, भोजन, आराम तथा स्वास्थ्य मापदण्डलाई ख्याल राखियोस् । शान्तिसुरक्षा कायम गर्दै देशकै स्वास्थ्यको ध्यान दिनुपर्ने प्रहरी बल आफैँमा अवस्थ भयो भने आशातीत परिणाम दिन सक्दैन । चौबीसै घन्टा ड्युटी गरेर थाकेकाको मनोबललाई शान्त हुने वातावरण बनाउनुहोस् । अत्यावश्यक सेवाको नाउँमा राज्यको सबै भार प्रहरी संगठनले मात्र बोक्न सक्दैन ।

निवृत्त भएका पूर्वप्रहरी अधिकृतहरूले व्यापारिक घरनाहरूमा सूचना बेच्ने र बिचौलियका रूपमा काम गर्ने डरलाग्दो प्रवृत्ति विद्यमान छ । संवेदनशील सूचना चुहाउने, प्रहरी संगठनलाई पंगु बनाउने प्रपञ्च रच्ने र राष्ट्रघातका काममा लागेकामाथि अनुसन्धान गर्दै सबै सुविधा तत्काल खोस्नुहोस् । प्रहरी कसैको दास होइन, राष्ट्रसेवक हो भन्ने सन्देश संगठनमा फैलाउनुहोस् । स्तरोन्नति र दरबन्दी बढाउने कार्यमा पहल गर्नुहोस् । ट्राफिक प्रहरी लगायत विभिन्न ठाउँबाट कथित नेताहरूलाई दिँइदै आएको नजराना बन्द गराउनुहोस् । कार्यविधिका त्रुटिहरुलाई सच्याएर प्रहरी संगठन पारदर्शी, जवाफदेही एवं देश र जनताको हितमा अहोरात्र सेवा गर्ने बन्न सकोस् । विवादित व्यक्ति एवं कथित नेताका थन्किएका फाइल खोलेर अनुसन्धान अगाडि बढाउनुस् । प्रहरीले अनुसन्धान गरेर सरकारी वकिलको कार्यालयमा बुझाएको मुद्दा फिर्ता लिनुपर्ने बाध्यताबाट प्रहरी प्रशासनलाई मुक्त बनाउनुस् । प्रहरीका उच्च अधिकारी कालोबजारी, बिचौलिया र व्यापारीसँग उठबसमा गर्ने, यिनै विवादित व्यक्ति संगठनको सेरोफेरोमा झुम्मिने वातावरणको अन्त्य गर्नुहोस् । साना ठूला सबै खाले घटनाको अनुसन्धान र मुद्दा चलाउनुपर्ने अधिकार प्राप्त प्रहरीले अधिकारको दुरुपयोग नगरोस् । प्रहरी सरकारको खेताला र दलीय कठपुतली नबनोस् । प्रहरीलाई राजनीतिक हस्तक्षेप मुक्त बनाउने कोसिस गर्नुहोस् । दलीय राजनीतिको प्रभावबाट गिजोलिएको अवस्थाबाट संगठनलाई मुक्त बनाउनुहोस् । असल कदममा समस्त नेपालीले साथ दिनेछन् ।

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक

धेरै टिप्पणी गरिएका