
नेपाल प्रहरीका पूर्वमहानिरीक्षक प्रकाश अर्यालले प्रस्तावित नेपाल प्रहरी विधेयक वि.स. २०१२ सालमा बनेको प्रहरी ऐनभन्दा पनि नियन्त्रणमुखी र प्रतिगामी रहेको टिप्पणी गरेका छन् । सोमबार संघीय संसद् परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले विधेयकमा धेरै कुराहरू सुधार गर्नुपर्ने बताए । वि.स. २०१२ सालमा बनेको प्रहरी ऐन समेत भारतको सहयोग लिएर बनाइएको उनले बताए ।
‘प्रहरी विधेयकमा सुधार गर्नुपर्ने चाहीँ धेरै कुराहरू छन् । नेपालको २०१२ सालको ऐन भन्दापनि त्यो भारतको ऐनबाट प्रभावित भएर आयो । किनभने बुस्ट कमिसनको आधारमा प्रशासनिक र प्रहरी व्यवस्था उतैबाट सहयोग लिएर त्यो ऐन बनेको हो,’ उनले भने, ‘तर २०१२ सालको ऐनभन्दा पनि प्रस्ताविक विधेयक अझै प्रतिगामी र नियन्त्रणमुखी भएर आयो । त्यसकारण कार्यात्मक स्वायत्तता भएर काम गर्नसक्ने र जवाफदेही पनि हुनेगरी ल्याउनुपर्छ ।’
प्रहरीको परिचालन समेत प्रहरीलाई नदिइ अन्य निकायलाई दिने प्रस्ताव गरिएको आपत्ति जनाउँदै उनले प्रहरी परिचालनका लागि समेत अर्काको मुख ताक्ने व्यवस्था भए संगठनले जिम्मेवार ढंगले काम गर्न नसक्ने बताए । ‘प्रहरीलाई जिम्मेवारी पनि तोकिनुपर्यो । यसमा त प्रहरी परिचालन समेत प्रहरीले नभई अरु कसैले गर्ने भनेर राखियो,’ उनले भने, ‘प्रहरी परिचालनका लागि पनि भोलिको दिनमा अरुको मुख ताक्नुपर्ने भयो भनेपछि त प्रहरीले जवाफदेही भएर काम गर्न सक्दैन । त्यसकारण यी कुराहरूमा सुधार गर्नुपर्छ भन्ने हाम्रो सोच हो ।’