अन्तर्राष्ट्रिय
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र परिवारको स्वामित्वमा रहेका सम्पत्ति जफत

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको धनमन्डीमा रहेको निवास ‘सुदासाधान’ र उहाँका परिवारका सदस्यहरूको स्वामित्वमा रहेका केही अन्य सम्पत्तिहरू प्रहरीले जफत गरेको छ ।
ढाकाको एक अदालतको आदेशपछि हसिनाको निवास र उहाँका परिवारका स्वामित्वमा रहेका सम्पत्तिहरू प्रहरीले जफत गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसका साथै अदालतले हसिनाको परिवारसँग सम्बन्धित १२४ वटा बैंक खाता पनि जफत गर्न आदेश दिएको छ ।
शेख हसिनाबाहेक उहाँका छोरा सजिब वाजेद जोय, छोरी साइमा वाजेद पुतुल, बहिनी शेख रेहाना र उनका छोरीहरू ट्युलिप सिद्दिकी र रदवान मुजीब सिद्दिकीको स्वामित्वमा रहेका केही अन्य सम्पत्तिहरू पनि जफत भएको खबरमा उल्लेख छ ।
गएको अगस्टमा विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलनले पूर्वप्रधानमन्त्री हसिनालाई अपदस्थ गरी सरकार ढालेको थियो । हसिना अहिले छिमेकी देश भारतमा बस्दै आउनुभएको छ । हसिना भागेर भारत गएपछि अहिले नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ ।