
काठमाण्डाै – रङ्गहरूकाे पर्व होली नजिकिएसँगै रौनक शुरू भएको छ । काठमाण्डौसहितका शहरहरूमा युवाहरू रङ्ग खेलेर रमाइलो गर्न थालेका छन् । भोलि सार्वजनिक बिदा रहेकोले आज धेरै विद्यालयमा पनि बालबालिकाहरूले रङ्ग खेलेर रमाइलो गरेका छन् ।
केही वर्ष अघिसम्म काठमाण्डौमा एक हप्ता अघिदेखि लोला हान्ने चलन भए पनि पछिल्ला वर्षहरूमा त्यो हटेको छ । तर केही दिन अघिदेखि आफ्नो समूहमा रमाइलो गर्ने चलन भने छ ।
यस वर्षको होली पहाडी र हिमाली जिल्लामा भोलि बिहीवार तथा तराई/मधेशका जिल्लामा पर्सि शुक्रवार मनाइँदै छ । होली नजिकिएसँगै बजारमा रङ्गदेखि पिचकारी तथा होली लेखिएको सेता कपडाको बिक्री बढेको छ ।
यसैबीच यस वर्षको होलीमा राम्रोसँग घाम नलाग्ने मौसमविद्हरूले बताएका छन् । भोलि र पर्सि दुवै दिन देशभर राम्रोसँग घाम लाग्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।
अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावसँगै बङ्गालको खाडीबाट पनि हल्का खालको जलवाष्पयुक्त वायु नेपाल भित्रिएकोले अझै तीन दिन घमाइलो हुने सम्भावना छैन । केही ठाउँमा सामान्य पानी परे पनि ठूलाे पानी पर्ने सम्भावना पनि नरहेको मौसमविद् मानन्धरले बताउनुभयो ।