
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनाको सन्दर्भमा आफूले त्यो रुट प्रयोग गर्दा त्यहाँ भइरहेको अवरोधको सम्बन्धमा सुरक्षा निकायले कुनै जानकारी नदिएको दाबी गर्नुभएको छ । आज सोमवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै मन्त्री ज्वालाले गएको शुक्रवार आफूले बालकुमारी क्षेत्रको रुट प्रयोग गर्दा सुरक्षा निकायले त्यो क्षेत्रमा भइरहेको अवरोधको सम्बन्धमा कुनै जानकारी नगराएको बताउनुभएको हो । गएको शुक्रवार रोजगार अनुमति प्रणाली ईपीएस आवेदन फारम भर्न नपाएको भन्दै बालकुमारी क्षेत्रमा युवाहरूले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले त्यही रुट हुँदै आएको मन्त्री ज्वालाको गाडीमा आगजनी गरेका थिए भने प्रहरीले बल प्रयोग गर्दा दुई जना युवाको ज्यान गएको थियो ।
यही विषयमा कुरा गर्दै मन्त्री ज्वालाले आफू पार्टी केन्द्रीय कमिटी बैठकका लागि तीन दिनदेखि बालकुमारी सडक भएर आउजाउ गरिरहेको र त्यो दिन पनि बैठकबाट निस्किएर मन्त्रालय जाने क्रममा त्यो घटना भएको बताउनुभयो । उहाँले आफ्नो सुरक्षा अधिकृतले केन्द्रमा आफूहरू बालकुमारीबाट मन्त्रालय निस्किएको जानकारी गराएको भए पनि प्रहरी केन्द्रबाट बाटोमा अवरोध भएको र त्यो बाटो प्रयोग नगर्ने सम्बन्धमा कुनै जानकारी नआएको उल्लेख गर्नुभयो । आफूहरूलाई बाटोमा अवरोध छ भन्ने कुरा जानकारी नै नभएका कारण त्यो रुट प्रयोग भएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘त्यस दिन पार्टीको केन्द्रीय कमिटी बैठक कान्तिपुर पार्टी प्यालेसमा चलिरहेको थियो । अन्तिम दिन बैठक भइरहेको थियो । त्यस बैठकमा म बिहानैदेखि सहभागी थिएँ । सिंहदरबारमा मन्त्रालयमा पनि एउटा बैठक थियो । पार्टीको बैठक शुरु भइसकेपछि केही समयका लागि मन्त्रालयको बैठकमा सहभागी भएर फेरि पार्टीको बैठकमा फर्किने उद्देश्यले म बाहिर निस्केँ । बाहिर निस्किनुभन्दा अगाडि बालकुमारी क्षेत्रमा के अवस्था छ रु त्यहाँ डिस्टर्ब छ कि छैन रु अथवा परिस्थिति के छ रु रुटको अवस्था के छ रु त्यो हामीलाई केही पनि थाहा भएन । हामी सामान्य अवस्थामा बाहिर निस्कियौँ । निस्किदाखेरी पनि सुरक्षा निकायबाट, सुरक्षाकर्मीबाट समेत यस विषयमा कुनै जानकारी भएन । हामी सामान्य रूपमा बाहिर निस्कियौँ ।
मन्त्री ज्वालाले घटनाप्रति दुःख पनि व्यक्त गर्नुभयो । उहाँले घटनामा आफूहरूको कुनै सम्बन्ध नभएको पनि उल्लेख गर्नुभयो । आफूहरू निर्दोष हुँदाहुँदै पनि आरोप लगाइएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । सुरक्षाकर्मीको कमजोरीलाई आफूहरूतिर थोपरेको उहाँको भनाइ थियो ।
हामी निस्किसकेपछि बीचमा अलिकति अगाडि बढिसकेपछि पारिपट्टी केही डिस्टर्ब हामीले महसुस गर्यौँ । अब के गर्ने भनेर त्यहाँ हाम्रो बीचमा छलफल भयो । अगाडि बढ्न पनि नसकिने, पछाडि फर्किन पनि नसकिने भएपछि मुख्य बाटोमा हामी प्रवेश गर्यौँ । मुख्य बाटोमा गइसकेपछि पनि केही व्यक्तिहरू आएर गाडी रोक्ने प्रयास भयो । त्यहाँ पीएसओले सम्झाउने प्रयास गरे । भीड बढ्दै जान थालेपछि म त्यहाँ रहँदा भीड झन् उत्तेजित होला भन्ने हिसाबले म त्यो गाडीबाट निस्केर फेरि बैठकस्थलमै फर्किएँ । त्यसपछिको अवस्था पनि मलाई जानकारी छैन । त्यहाँ आगलागी भएको कुरा । गोली चलेको कुरा । गोली चलेको कुरा गाडीमा आगो लाग्नुभन्दा पहिले हो कि पछि हो भन्ने कुरा पनि छानबिनबाट पनि थाहा होला । हाम्रो गाडी त्यहाँ पुगिसकेपछि पीएसओले बारम्बार यहाँ गाडी सडकमा छ, प्रदर्शनकारीहरूले घेरिरहेका छन्, छिटोभन्दा छिटो सुरक्षाकर्मी पठाउनुपर्यो भनेर कम्युनिकेशन गरिरहेका थिए । त्यति हुँदा पनि झन्डै २०र२२ मिनेटसम्म पनि त्यहाँ सुरक्षाकर्मी पुगेनन् । त्यसपछि प्रदर्शनकारीहरूले आगो लगाए भन्ने कुरा पछि मैले जानकारी पाएँ ।
‘यो घटनामा हामी कहीँ कतैबाट पनि जोडिदैनौँ । हाम्रो कुनै सम्बन्ध, साइनो पनि छैन । हाम्रो मन्त्रालयसँग जोडिएको विषय पनि होइन । अब भौतिक पूर्वाधार मन्त्री चढेको गाडी आएकै कारणले यो घटना घट्यो भन्ने कसैले परिभाषा गर्छ भने यो पूर्णरूपमा गलत कुरा हो । किनकि सडक खुला छ । सडकमा गाडी त चल्छन् । अरू गाडी पनि चलिरहेकै छन् । हाम्रो गाडी पनि चल्यो । त्यहाँ डिस्टर्ब छ भन्ने कुरा जानकारी भएको भए हामी जाँदैन थियौँ’, मन्त्री ज्वालाले भन्नुभयो ।