खेलकुद
महिला टी–ट्वान्टी त्रिकोणात्मक सिरिजः आजदेखि दोस्रो चरणका खेल, नेपालले नेदरल्यान्ड्ससँग खेल्दै

काठमाडौं। काठमाडौंमा जारी महिला टी–ट्वान्टी त्रिकोणत्मक सिरिजमा आजबाट दोस्रो चरणका खेल सुरु हुँदैछन् । आज नेपालले नदेरल्यान्डससँग खेल्दैछ ।
जारी सिरिजमा नेपालले नेदरल्यान्ड्ससँग दोस्रो पटक प्रतिस्पर्धा गर्न लागेको हो । इन्दु बर्माको टिम पहिलो जीतको खोजीमा छ । नेपालले नेदरल्यान्ड्ससँग नै खेल्दै सिरिजको सुरुवात गरेको थियो । । सो खेलमा डच टिमले २० रनको जीत हात पारेको थियो । पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४ विकेटको नोक्सानिमा १ सय ५७ रनको योगफल बनाएको थियो । जसमा रोबिन राइकीले अविजीत ५९ रनको इनिङ्स खेलिन् । जवाफमा नेपालले ७ विकेटको क्षतिमा १ सय ३७ रन मात्र बनाउन सकेको थियो । सिता राना मगरले २८, कविता जोशीले २७ र पूजा महतोले २४ रन बनाएका थिए ।
आज नेदरल्यान्ड्ससँग मैदान उत्रँदा नेपाल सिरिजमा लगातार तेस्रो हार टार्ने लक्ष्यमा हुनेछ । हिजो भएको खेलमा थाइल्यान्डसँग ६ विकेटले हारेपछि नेपाल दवावमा छ । नेदरल्यान्ड्सले पनि थाइल्यान्डसँग ८ विकेटको पराजय बेहोरेको थियो । तालिकामा थाइल्यान्ड ४ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको नेदरलयान्ड्सको दुइ अंक छ । पुनरागमनका लागि नेपालले ब्याटिङ र फिल्डिङमा उल्लेख्य सुधार गर्नुपर्नेछ । डेथ ओभर बलिङमा पनि नेपालले ध्यान दिनुनर्पेछ ।
खराब प्रदर्शनसँगै नेपाललाई मुख्य खेलाडी कविता कुँवरको चोटले पनि चिन्तित बनाएको छ । थाइल्यान्डविरुद्धको खेलमा बलिङ गर्ने क्रममा कवितालाई ढाडमा समस्या देखिएको थियो । स्ट्रेचर मार्फत बाहिर आएकी कवितालाई सिधै अस्पताल लगिएको थियो । उनको स्वास्थ्यबारे केही बताइएको छैन । त्यसैले उनले आज खेल्छिन् खेल्दिनन् भन्ने यकिन छैन ।