
काठमाडौं । मुलपानी क्रिकेट मैदानले एकदिवसीय अन्तराष्ट्रिय (ओडिआई) मान्यता पाउने भएको छ । राजधानीमा जारी एसीसी प्रिमियर कपमा दुई ओडिआई मान्यता प्राप्त देश ओमान र युएईबीच सेमिफाइनल खेल शनिबार मुलपानीमा हुने भएपछि ओडिआई मान्यता पाउने भएको हो ।
नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव दुर्गाराज पाठकले पनि ओमान र युएईबीचको खेलसँगै ओडिआई मान्यता पाउने जनाएका छन् ।
मुलपानी ओडिआई मान्यता पाउने नेपालको दोस्रो मैदान हुनेछ । पहिलो ओडिआई मान्यता टियु मैदानले पाएको थियो । यसै प्रतियोगितामा सिंगापुर र हङकङबीच मुलपानीमा पहिलो अन्तर्राष्ट्रिय खेल भएको थियो ।
एसीसी प्रिमियर कपमा समूह चरणका १० खेल मुलपानीमा सम्पन्न हुनुपर्नेमा नेपाल र साउदी अरेवियाबीचको खेल भने वर्षाको कारण हुन सकेको थिएन । मुलपानी ओडिआई मान्यता पाउने विश्वको २ सय १६ औं मैदान बन्नेछ ।
दुई सेमिफाइनलका विजेताबीच सोमबार फाइनल खेल रहेको छ । फाइनलको विजेता टोली एसीया कपका लागि छनोट हुनेछ । एसीया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ । यस्तै शीर्ष तीनमा रहने टोली एसीसी ईमर्जिङ कपका लागि छनोट हुनेछन् ।