
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले यो हप्ता भित्रै सरकार बिस्तार हुने बताएका छन् । उनले आज मात्रै विश्वासको मत लिएका हुन् । विश्वासको मत लिइसकेपछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै उनले यस्तो बताएका हुन् । प्रदेश सभामा सोमबार भएको मत विभाजनका क्रममा मुख्यमन्त्री कार्कीको पक्षमा कुल ५७ मत परेको छ ।कार्कीलाई एमालेका ४०, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ३ र जसपाका १ जना प्रदेश सभा सदस्यले मत हालेका छन् ।
विश्वासको मतका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी भने तटस्थ बसेको छ। राप्रपाका ६ प्रदेश सभा सदस्य रहेका छन् । उता २९ प्रदेश सभा सदस्य रहेको नेपाली कांग्रेसले भने प्रदेश सभा बैठक बहिष्कार गरेको छ । कुल ९३ सदस्य रहेको प्रदेशसभामा मुख्यमन्त्री हिक्मत कार्कीलाई बहुमत ४७ मत आवश्यक थियो । मतदानमा ६२ प्रदेश सभा उपस्थित थिए । कोशीमा एमालेका ४०, नेपाली कांग्रेसका २९, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन्। कार्की संविधानको धारा १६८ उपधारा ५ अनुसार वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई एमालेका ३९ र माओवादीका १३ सांसदको समर्थन छ ।