जोडिनुहोस
बिहिबार, फाल्गुन १५, २०८१
बिहिबार, फाल्गुन १५, २०८१
  • होमपेज
  • राजनीतिक दलले बुझाए आयव्यय, एमाले सबैभन्दा धनी

राजनीतिक दलले बुझाए आयव्यय, एमाले सबैभन्दा धनी

काठमाडौं । राजनीतिक दलले आम्दानी र खर्चको विवरण निर्वाचन आयोगमा बुझाएका छन् । आयोगमा राजनीतिक दलले बुझाएको आर्थिक वर्ष २०८०/८१ को आम्दानी र खर्चको विवरण अनुसार नेकपा एमाले सबैभन्दा धनी दल देखिएको छ ।

नेकपा एमाले ले गत आर्थिक वर्षमा १४ करोड ७९ लाख पाँच हजार ८०९ रुपैयाँ आम्दानी गरेको छ । आर्थिक वर्ष २०७९/८० मा करिब दुई करोड ६२ लाख ८४ हजार रुपैयाँले घाटामा रहेको एमालेले यस वर्ष करिब सात करोड २८ लाख रुपैयाँले बचत गएको हो ।

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस दुई वर्षदेखि निरन्तर घाटामा गएको विबरण पेश गरेको छ । नेपाली कांग्रेस भने दुई करोड ३२ लाख ४७ हजार ५९९ रुपैयाँले घाटामा गएको छ । कांग्रेसले आर्थिक वर्ष २०८०/८१ मा दुई करोड ५९ लाख आठ हजार ७७५ रुपैयाँ आम्दानी गरेको छ । उसको खर्च चार करोड ९१ लाख ५६ हजार ३७५ रुपैयाँ छ ।

नेकपा माओवादी केन्द्रको आम्दानी घटेको देखिएको छ । माओवादी केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा एक करोड ८६ लाख ५३ हजार १४६ रुपैयाँ आम्दानी गरेको छ । उसले २०७९/८० मा तीन करोड ४८ लाख ४१ हजार ९३ रुपैयाँ आम्दानी गरेको थियो । विवरण बमोजिम माओवादी केन्द्र दुई हजार ४४३ रुपैयाँले बचतमा छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आम्दानीको दोब्बर खर्च गर्दा करिब पौने दुई करोड रुपैयाँले घाटामा गएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले भने आम्दानीको दोब्बर खर्च गरेको छ । उसले आर्थिक वर्ष २०८०/८१ मा तीन करोड ७९ लाख ५९ हजार ४८७ रुपैयाँ आम्दानी गरेको छ । छ करोड ५० लाख १७ हजार ७८ रुपैयाँ उसको खर्च हो ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ ले आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र राजनीतिक दलले आयव्ययको लेखा परीक्षण गर्नुपर्ने र सोको एक महिनाभित्र निर्वाचन आयोगमा प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था रहेको छ । सो व्यवस्था बमोजिम माघभित्र ८८ राजनीतिक दलले लेखा परीक्षण प्रतिवेदन बुझाएको छ ।

धेरै टिप्पणी गरिएका