
काठमाडौँ । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ४१ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । बैंकले १ वर्षका लागि क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामा उक्त रकम मुद्दती निक्षेपमा राख्ने भएको हो ।
२०८० साउन १६ गतेदेखि आगामी वर्ष २०८१ साउन १६ गतेसम्म कूल ३६५ दिन मुद्दती निक्षेपमा राख्ने बैंकले जनाएको छ । निक्षेप चाहने बैंक तथा वित्तीय संस्थाले साउन १२ गते बेलुका ७ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् ।
बैंकका अनुसार कूल ४१ करोडमध्ये ३२ करोड ८० लाख रुपैयाँ वाणिज्य बैंकमा राखिनेछ भने ६ करोड १५ लाख रुपैयाँ विकास बैंक र २ करोड ५ लाख रुपैयाँ फाइनान्स कम्पनीहरुका राखिने छ ।
तर निक्षेप चाहने बैंक तथा वित्तीय संस्थाहरुले सञ्चालनमा आएको कम्तिमा २ वर्ष पुरा गरेको हुनुपर्नेछ भने तोकिएको न्यूनतम पुँजीकोष अनुपात कायम गरेको र कूल कर्जा लगानीको ५ प्रतिशत खराब कर्जा नकटेको हुनुपर्ने बैंकले जनाएको छ ।